टीकापुर गोदाममा धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि

सहयात्रा टिभी

काठमाडौं । मंसिर २९, कैलालीको जानकी गाउँपालिका–३ सुवर्णपुरका गर्भु चौधरी मंगलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुगे ।

सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान खरिद सुरु गरेपछि १६ बिघामा लगाएको धान बिक्रीका लागि गर्भु टीकापुर गोदाम पुगेका हुन् । धान बिक्रीका लागि आएका उनी रातभर त्यहीँ बसे । लाइनमा बसेका गर्भुको बुधबार पनि पालो आएन ।

बाह्र बिघा १० कट्टा क्षेत्रफलमा धान खेती गरेका उनले १० क्विन्टल धान अन्यत्र लगेर बिक्री गरिसकेका छन् । घर खर्च टार्न र हिउँदे खेती गर्न मल खरिदका लागि सस्तोमा धान बिक्री गरेको उनले बताए ।

टीकापुर नगरपालिका–१ का रामचरण चौधरी पनि बुधबार ट्याक्टरमा धान ल्याएर टीकापुर गोदाम पुगेका उनलाई धान बिक्री गर्न तीन दिन यहीँ बस्नुपर्ने बाध्यता छ । उनको पालो एक सय ७९औं स्थानमा छ ।

भजनी नगरपालिका–८ का सुरेन्द्र चौधरी पनि टीकापुर नगरपालिका–७ स्थित धान खरिद केन्द्र पुगेको दुई दिनपछि मात्र धान बिक्री गरे । कम्पनीले धान खरिद गर्न थालेपछि खरिद केन्द्रमा किसानको अत्यधिक भीड छ ।

भजनी नगरपालिका–८ का हरिकुमार चौधरी धान बिक्री गर्न खाद्यको खरिद केन्द्रमा गोरु गाडामा धान भरेर पुगे पनि बेच्न पाएका छैनन् । बर्सातको समयमा आएको बाढीले क्षति पु¥याएको र धान सफा नभएको भन्दै उनको धान खरिद गर्न खाद्यले मानेन ।

धान बिक्रीका लागि खाद्यको खरिद केन्द्र पुगेका हरिकुमारजस्तै धेरै किसान खाद्यले धान खरिद गर्न नमानेपछि निरास भएर फर्किएका छन् । खाद्यले गुणस्तर हेरेर मात्रै धान खरिद गर्ने गरेको छ । पानीले नभिजेको, परालको टुक्रा, पोकटा नमिसिएको ताजा मोटा धान मात्र खरिद गर्न थालिएको छ ।

कम्पनीले जिल्लामा पाँच क्षेत्रबाट धान खरिद सुरु गरेको छ । टीकापुर नगरपालिकामा खाद्यको नगरपालिकाको वडा नं १ टीकापुर शाखा, वडा नं ७ सत्ती, धनगढी उपमहानगरपालिकाको मोहनपुर गोदाम, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाबाट धान खरिद थालिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मोटा धानको न्यूनतम मूल्य प्रती क्विन्टल रु दुई हजार नौ सय ६७ र मध्यम धानको मूल्य रु तीन हजार एक सय २८ कायम गरेको छ । कात्तिकमै धानको समर्थन मूल्य निर्धारण गरिएको भए पनि धान खरिदको अधिकार नदिँदा खरिद प्रक्रिया सुरु हुन सकेको थिएन ।

कैलालीमा यस वर्षका लागि ४० हजार क्विन्टल धान खरिद गर्न केन्द्रबाट अनुमति प्राप्त भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सुदूरपश्चिम कार्यालय प्रमुख इन्जिला बस्नेतले जानकारी दिइन् ।

 

प्रकाशित : 15 December, 2022

प्रतिक्रिया दिनुहोस्