नेप्से आज १४ दशमलव ४८ अङ्कले घट्यो
सहयात्रा टिभी
काठमाडौं । मंसिर २९, लगातार तेस्रो दिन आज बिहीवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४८ अङ्कले घटेर एक हजार आठ सय ८२ दशमलव ६० विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ५४ वटा कम्पनीको ४८ लाख चार हजार कित्ता शेयर एक अर्ब १९ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै एनसीसी बैंकको प्रमोटर शेयर २२ करोड ८९ लाख रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि रुरु जलविद्युत् परियोजना र इष्टर्न हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।