होङ्सी सिमेन्ट कारखानामा कार्यरत व्यवसायीको प्रदर्शन
काठमाडौ । पुस ४, नवलपरासी पूर्व नवलपुरको सर्दीमा रहेको होङ्सी सिमेन्ट कारखानामा भुक्तानी नपाएको भन्दै व्यवसायीले आन्दोलित भएका छन् ।
उद्योगमा ढुवानीको काम गर्ने व्यवसायीले तीन महिनादेखि आफूहरुले पाउनु पर्ने रकम भुक्तानी पाउन नसकेको भन्दै आज उद्योग अघि टायर बालेर प्रदर्शन गरेका हुन् ।
स्थानीयसहित व्यवसायीले उद्योग परिसरअघि प्रदर्शन गरी उद्योगका सबै ढुवानीको काम रोकेका छन् । अत्यावश्यक बाहेक सबै ढुवानीका काम रोकेर आफूहरु आन्दोलित भएको व्यवसायी यादव पौडेलले बताउनुभयो ।
उद्योगमा आवश्यक खाद्यान्न पुर्याउने, ढुवानीका काम गर्नेदेखि होटल व्यवसायीको उधारो बाँकी रकम भुक्तानी नभएकाले आन्दोलनमा उत्रिनु परेको उहाँले बताउनुभयो ।
स्थापनाको समयमा वरपरको वातावरणीय स्वास्थ्य प्रतिकूल हुन नदिने, स्वास्थ्य, कृषिका क्षेत्रमा आवश्यक लगानी गरी सुविधा दिने लगायत विषयमा सहमति भएको भए पनि अहिले त्यसप्रति उद्योग प्रशासन गम्भीर नबनेको पौडेलको भनाइ छ ।