आगलागीका कारण सोलुखुम्बुको नेले बजारमा ४ करोड ७२ लाखको क्षति

काठमाडौं । पुस ६, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–१ नेले बजारमा भएको आगलागीमा ४ करोड ७२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
हिजो बेलुका स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भइ सुरु भएको आगलागीमा ५ वटा घर जलेका हुन् । आगलागीबाट बुद्धिबहादुर कार्की, रमेश बस्नेत, गणेश बस्नेत र कल्पना बस्नेतको घर पूर्ण रुपमा जलेको र प्रणय राईको घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिनुभयो ।
रमेश बस्नेतको घरसहित किराना पसल, मोबाइल पसल पूर्ण रुपमा जल्दा एक करोड ५० लाख रुपैयाँ बराबरको, बुद्धि बहादुर कार्कीको घरसहित भित्र रहेको होटल जल्दा ८० लाख बराबरको, गणेश बस्नेतको घरसहित भित्र रहेको मोबाइल पसल जलेर नस्ट हुँदा १ करोड बराबरको र कल्पना बस्नेतको घरसहित भित्र रहेको फेन्सी पसल र मोबाईल पसल जल्दा १ करोड ४० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो ।
त्यसैगरी प्रणय राईको पक्की घरमा सामान्य क्षति पुग्दा २ लाख बराबरको नोक्सान भएको छ । आगो सोलुदुधकुण्ड नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयबासिन्दालगायतको सहयोगमा निभाइएको थियो ।