आजदेखि का.म.न.पा.ले एक हप्तासम्म फोहर नउठाउने, घरमै व्यवस्थापन गर्न आग्रह

काठमाडौं । पुस ८, काठमाण्डौ महानगरपालिकाले आजदेखि एक हप्तासम्म फोहर सङ्कलन नहुने भएकाले फोहरलाई घरमै व्यवस्थापन गर्न आग्रह गरेको छ ।
महानगरपालिकाले सूचना निकालेर आ–आफ्नो घर, पसल र व्यवसायबाट उत्पन्न हुने कुनै पनि फोहर सडक, चोक, सार्वजनिक ठाउँमा नफाली घरभित्रै राख्न अपिल गरेको हो ।
सहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा रहेको ल्याण्डफिल साइट जाने दुई किलोमिटर सडक मर्मतको काम भइरहेकाले फोहरका गाडी नपठाउन भनेपछि महानगरपालिकाले फोहर सङ्कलनको काम रोकेको हो । सिसडोलदेखि बन्चेडाँडासम्मको सडक मर्मत गर्न लागिएको हो ।
उपत्यकामा दैनिक एक हजार दुई सय मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । यसमध्ये ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन हुँदै आएको छ भने बाँकी फोहर निजी कम्पनीसँगको सहकार्यमा व्यवस्थापन हुने गरेको छ ।