बाँदरको आतङ्कले गर्दा पर्वतमा किसानले हिउँदे बाली लाउनै छोडे

सहयात्रा टिभी

काठमाडौ । पुस १२, पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क बढ्दै गएको छ । यसले गर्दा हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ भने लगाएकाहरूले पनि पाक्ने बेलासम्म जोगाउन हम्मेहम्मे पर्ने गरेको छ ।

बाँदर धपाउन समूह बनाएर बस्दा पनि समाधान नभएको स्थानीय गुनासो गर्छन् । जिल्लामा आलुको पकेट क्षेत्र मानिने जलजला गाउँपालिकाका बनौ, शालिजा, लेखफाँट, क्याङ, भुकताङले, बाँसखर्कलगायत वडामा आलुखेतीमा पनि बाँदर मुख्य समस्या रहेको भन्दै किसान चिन्तित बनेका छन् ।

जिल्लाका उच्च भेगमा पर्ने गाउँको मुख्य बाली आलुखेती हो । हिउँदे खेतीका लागि उपयुक्त मानिने कुश्मा र फलेवास नगरपालिकामा पनि बाँदरको हैरानीले किसानले लगाएको कुनै पनि हिउँदे खेती स्याहार्न नपाएको किसानको गुनासो छ ।

दशकअघिसम्म पर्वतबाट अन्य जिल्लामा गहुँ र गहुँको बीउसमेत निर्यात हुने गरेकामा पछिल्ला वर्षमा गहुँ र गहुँको पिठो तराईका विभिन्न उद्योगको भर पर्नुपरेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

जिल्लाको फलेवास नगरपालिकाले चालु वर्ष किसानलाई आलु र गहुँको बीउ निःशुल्क वितरण गर्ने कार्यक्रम रहेको भए पनि अपेक्षित माग नआएको जनाएको छ । ‘फाट्टफुट्ट माग आएको थियो’, कृषि शाखा प्रमुख केदार सापकोटाले भने, ‘बीउ माग गर्ने किसानले बाँदर जोगाइदिने भए लैजान्छौं, नत्र लैजाँदैनौँ भनेका छन् ।’

महाशिला र पैयुँ गाउँपालिकाले आर्थिक वर्ष २०७५र७६ मा सुरु गरेको बाँदर नियन्त्रणको योजना सफल हुन नसकेपछि अहिले त्यस क्षेत्रमा समेत कृषकहरू हिउँदे खेतीप्रति रुचि देखाउन छाडेका छन् ।

 

प्रकाशित : 27 December, 2022

प्रतिक्रिया दिनुहोस्