हात्तीको बथानद्वारा उखु बाली नष्ट

सहयात्रा टिभी

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खेतबारीमा छिर्ने गरेको हात्तीको बथानले कञ्चनपुरको लालझाडी गाउँपालिका–४ सिकलपट्टिका आधा दर्जनभन्दा बढी किसानले लगाएको उखु बालीमा व्यापक नोक्सानी गरेको छ ।

धान बाली काटिएपछि हात्तीको बथानले एक सातादेखि निरन्तररुपमा उखु बालीमा नोक्सानी पुर्‍याउन थालेको हो ।

आधा दर्जन किसानले पाँच बिगाहा खेतमा लगाएको पूरै उखु बाली खाएर रु आठ लाखभन्दा बढीको नोक्सानी पुर्‍याएको स्थानीय किसान सञ्चा रानाले बताउनुभयो ।

स्थानीय किसान रामदास राना, रामस्वरुप राना, बहादुर राना, सञ्चा रानाको पाँच बिगाहा खेतमा लगाएको उखु बालीमा व्यापक नोक्सानी पुर्‍याएको उहाँले बताउनुभयो ।

बैंक, सहकारी र समूहबाट ऋण लिई अधिकांशले उखु बाली गरेका छौँ रामदास रानाले भन्नुभयो, “हात्तीको बथानले नोक्सानी पुर्‍याउन थालेपछि मर्कामा परेका छौँ ।” हात्ती भगाउनका लागि रातभर जाग्राम बस्ने गरे पनि हात्तीले उखु बालीमा नोक्सानी पुर्‍याउन नछाडेको उहाँले बताउनुभयो ।

हात्ती नियन्त्रणका लागि माग गरे पनि कुनै निकायबाट सहयोग पाउन नसकेको यस क्षेत्रका किसानको भनाइ रहेको छ । पन्ध्रदेखि बीसको संख्यामा रहेको हात्तीको बथान खेतमा छिर्ने गरेको छ ।

यसैबीच, मंगलबार राति स्थानीय कलावती भट्टको घर हात्तीको बथानले भत्काई भण्डारण गरिएको अन्न सबै खाइदिँदा उनको परिवार बिचल्लीमा परेको छ ।

प्रकाशित : 26 October, 2017

प्रतिक्रिया दिनुहोस्