प्रधानमन्त्री दाहालले कार्यान्वयन नगर्न निर्देशन दिएपनि फेसबुकमा भन्सारका भर्पाइ भाइरल

काठमाडौं । पुस २०, विदेशबाट फर्किएका नागरिकले ल्याएको मोबाइलमा कडाइ गरेपछि अहिले ‘नो रेमिट्यान्स’ भन्दै सामाजिक सञ्जालमा अभियान नै चलिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १५ पुसमा विदेशबाट ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । तर, अझै भन्सारले कडाइ गर्न छाडेको छैन ।
झिटिगुन्टा सुविधासम्बन्धी राजपत्रमा प्रकाशित सूचनामै एउटा मात्र मोबाइल ल्याउन पाइने व्यवस्था भएकाले कडाइ गरिएको भन्सारका कर्मचारीहरु बताउँछन् ।
भन्सारका अधिकारीहरु भन्छन्, ‘कि त कानून संशोधन हुनुपर्यो, नभए केही गर्न सक्ने अवस्था छैन ।’ यहीबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले मूल्य र हस्ताक्षरविनाको भर्पाइ दिएको भन्दै बुधबार सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भएको छ ।
रौतहटका अवधेशकुमार चौरासियाको नाममा काटिएको बिल २०७८ चैत ३० गतेको हो । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सोधेका छन्, ‘मूल्य र हस्तक्षरविनाको यो बिलको पैसा सरकारी कोषमा जम्मा हुन्छ कि हुँदैन ?’
यही प्रश्न विमानस्थल भन्सारका प्रमुख प्रशासक सह–सचिव अरुण पोखरेलसँग उनले यसबारे सामाजिक सञ्जालमार्फत अफवाह फैलाइएको बताए । उनले भने, ‘सामाजिक सञ्जालमा आएपछि के रै’छ भनेर मैले पनि हेरेको थिएँ, त्यो भन्सार तिर्नुअघि सामान डिपोटिज गरेको रसिद मात्र हो ।’
भन्सार तिरिएको बिल छुट्टै हुने उनले बताए । उनका अनुसार चौरासियाले आईफोन १३ प्रोम्याक्स दुई थान वापतको भन्सार ३६ हजार ३९९ तिरेर त्यतिबेलै सामान छुटाएर लगेको पाइएको छ ।