सिरहामा विद्यालयको लापरबाहीले पानी भनेर स्प्रीट पिउँदा एक छात्राको मृत्यु  

सहयात्रा टिभी

काठमाडौं । पुस २४, सिरहामा विद्यालयको लापरबाहीका कारण एक छात्राको मृत्यु भएको छ । औषधी खाने क्रममा पानी भनेर बोतलमा रहेको स्प्रीट पिउँदा सिरहाको मिर्चैयास्थित सगरमाथा हायर सेकेन्डरी स्कुलमा अध्ययनरत सिरहा नगरपालिका–११ पदमपुरका धर्मेन्द्र महराकी छोरी १६ वर्षीया सिर्जना कुमारी महराको उपचारको क्रममा मृत्यु भएको हो ।

महिनावारीका कारण पेट दुखेका सृजनाले शुक्रवार स्कुलकै एक शिक्षिकाले दिएको औषधी खाने क्रममा पानीको सट्टा स्प्रीट पिउँदा उनी थप बिरामी भएकी थिइन् ।

विद्यालयका संस्थापक प्रिन्सिपल प्रदीप तिवारी आफैले विद्यार्थीको उपचार गराउनुभन्दा केही भएको छैन भन्दै घर पुर्‍याएकाले समयमा उपचार हुन नसक्दा उनको मृत्यु भएको अभिभावले जनाएका छन् ।

प्रिन्सिपल तिवारीले सिर्जनालाई घरमा पुर्‍याएर ‘थोरै स्प्रीट खाएकोले नसा लागेको छ, केही बेर सुताएपछि ठिक भइहाल्छ’ भनेर छाडेर गएको बुवा धर्मेन्द्र महराले बताए । शिक्षकको विश्वासमा पर्दा छोरी गुमाउनु पर्‍यो ।

ठिक समयमा सही सूचना नदिँदा आफूले छोरी गुमाउनु परेको महरा बताउँछन् । उनले विद्यालयको लापरबाहीले छोरीको ज्यान गएको भन्दै कानुन बमोजिम कारबाही हुनुपर्ने मागसहित उजुरी दिएका छन् ।

प्रहरीले अनुसन्धानको लागि औषधी दिने शिक्षिका अम्बिका लम्साल र प्रिन्सिपल प्रदीप तिवारीलाई नियन्त्रणमा लिएको डिएसपी ओलीले जनाएको छ । नियन्त्रणमा लिएर छानबिन गरिरहेका छौँ ।’

आक्रोशित विद्यार्थीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया बजार क्षेत्रमा पटक–पटक सडक जाम गरिरहेका छ । उनीहरूले विद्यालयको चरम लापरबाहीले मृत्यु भएकाले दोषीलाई कारबाहीको माग गरेको छ । सडक जाम खुलाउन प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ । तर एक ठाउँमा बल प्रयोग गरेर जाम खुलाउँदा विद्यार्थीले अर्को ठाउँमा पुगेर जाम गरिरहेका छन् ।

 

प्रकाशित : 8 January, 2023

प्रतिक्रिया दिनुहोस्