अदालतमा निहारिका राजपुत र शिवराज श्रेष्ठबीच मिलापत्र

सहयात्रा टिभी

काठमाडौं । माघ १८, कुमारी आमाका रूपमा चर्चामा आएकी निहारिका राजपुतले आरोपित शिवराज श्रेष्ठसँग मिलापत्र गर्नुभएको छ ।

धनुषा जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा राजपूतले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ ९४० बमोजिम मिलापत्र गर्नुभएको हो ।

मिलापत्रअनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रूपमा स्वीकार्नुभएको छ । जिल्ला अदालतमा अंश मुद्दा दिनुभएकी उहाँले दुई जनाबीच पति–पत्नीका रूपमा बस्ने निर्णय भएको भन्नुभएको छ ।

मिलापत्रपछि यसै हप्ता श्रेष्ठसँग विवाह गर्न लागेको राजपुतले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘यसै हप्ता पण्डितसँग दिन देखाएर माता जानकीको मन्दिरमा विवाह गर्ने तयारी गरेका छौँ ।’

निहारिकाले आफू बलात्कृत भएको र कानुनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गर्दै आउनुभएको थियो ।

त्यस क्रममा उहाँ पटक–पटक पक्राउसमेत पर्नुभएको थियो ।उहाँले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, घटनाको सुरुदेखि नै मुद्दा कमजोर बनाउने गरी काम भएको भन्दै पुनः जाँच गरिनुपर्ने लगायको माग राख्दै अनशन बस्नुभएको थियो ।

यो प्रकरण पहिल्यै अदालतसम्म पुगेको थियो । तर जिल्ला अदालत धनुषाले २०७८ माघ २४ गते श्रेष्ठलाई सफाइ दिएको थियो । त्यसविरुद्ध निहारिका उच्च अदालत जनकपुर पुग्नुभएको थियो ।

त्यसपछि बलात्कारको मुद्दामा प्रमाणको मूल्याङ्कन नगरि आरोपितलाई सफाइ दिएको भन्दै धनुषाका तत्कालीन जिल्ला न्यायाधीश डा। परशुराम भट्टराई पनि जिल्ला अदालत तानिनुभएको थियो । बलात्कारसम्बन्धी मुद्दा उच्च अदालतमा अझै विचाराधीन छ ।

 

प्रकाशित : 1 February, 2023

प्रतिक्रिया दिनुहोस्