हुम्लाका दुईसय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र

सहयात्रा टिभी

हुम्ला । दशैँ, तिहार र छठ पर्व मनाउन घर गएका हुम्लाका करिब दुईसय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका छन् ।

हुम्ला फर्किन हवाईजहाजको टिकट नपाएपछि ती कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै गएको अवस्थामा कर्मचारी हतार हतारमा आ–आफ्नो कार्यालय फर्किन थालेका थिए । तर अधिकांश कर्मचारी हवाईजहाजको टिकट नपाउँदा हप्तौँदेखि नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका मुख्य निर्वाचन अधिकृत अनिलकुमार शर्माले बताउनुभयो ।

“कर्मचारी जिल्ला नआइसकेको अवस्थामा निर्वाचनमा खटिनेहरुको नामावली केन्द्रमा पठाउन सकिएको छैन,” उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा कर्मचारी चाँडै फर्किन खोजेपनि हवाईजहाज उडान नियमित नहुँदा मारमा परेको बताउनुभयो ।

जिल्ला समन्वय समितिका सचिव लोकबहादुर सुनारले हवाईजहाजको टिकटका लागि एक हप्ता नेपालगञ्ज बस्नुपरेको बताउनुभयो । “बल्ल आज टिकट पाइयो र आउन सके, अरु कर्मचारी अलपत्र परेका छन्,” उहाँले भन्नुभयो । तारा, सीता र नेपाल एयरलाइन्सका विमानले नेपालगञ्ज र सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएपनि नियमित भने छैनन् । रासस

प्रकाशित : 1 November, 2017

प्रतिक्रिया दिनुहोस्