मेयर बालेनले पीडितहरुको माग मन्त्रिपरिषदबाट सम्बोधन गर्न अग्रह

काठमाडौं । चैत १४, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले मिटर ब्याज पीडितहरुको माग छिटोभन्दा छिटो मन्त्रिपरिषदबाट सम्बोधन गर्न अग्रह गरेका छन् ।
मेयर बालेन्द्र साह (बालेन)ले मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउदै मन्त्रिपरिषद्ले यथाशीघ्र उनीहरुको माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।
तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी भने शंकास्पद भएको उनले बताएका छन् ।
मिटर ब्याज पीडितहरुलाई खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै महानगरपालिकाको आलोचना भइरहेको बेला मेयर साहले सो धारणा सार्वजनिक गरेका हुन् ।
खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन भन्दै मेयर साहले फेसबुकमा लेखेका छन्, ‘तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद छन् ।’
बर्दिवासबाट १२ दिनसम्म पैदल हिँडेर सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरु खुलामञ्चभित्र प्रवेश गर्न खोज्दा काठमाडौं महानगरपालिकाका नगरप्रहरीहरुले रोकेका थिए ।
त्यसपछि उनीहरु खुला आकास मुनि सडकमै रात बिताएका थिए । पीडितहरुले मंगलबार बिहानैदेखि काठमाडौंको टंगालमा विरोध प्रदर्शन गरेका हुन् ।