मिटरब्याज पीडितहरुले १९ सदस्यीय वार्ता टोली गठन गरे

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २६, मिटरब्याज पीडितहरुले १९ सदस्यीय वार्ता टोली गठन गरेको जनाएका छन् । २० चैतदेखि काठमाडौंमा आन्दोलनरत पीडितहरुले गृह मन्त्रालयको टोलीसँग वार्ता गर्न टोली गठन गरेका हुन् ।

गृह मन्त्रालयले गत शुक्रबार सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

सरकारी वार्ता टोलीमा सहसचिव कोइराला, मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली छन् ।

तर मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनका अनुसार पीडितहरुले गृहमन्त्रीसँग नै वार्ता गर्ने अडान लिएका छन् । सम्भवत आजै वार्ता हुने पनि उनले बताए ।

काठमाडौंमा आएर विरोधका कार्यक्रम गरेको मिटरब्याज पीडितको एक टोलीसँग सरकारले १८ चैतमा पाँचबुँदे सहमति गरेको थियो । त्यो टोली फर्किएलगत्तै मिटरब्याज पीडितकै अर्को एक टोली काठमाडौंमा प्रदर्शन गर्दै आएको छ ।

अहिलेको टोलीले सरकारले अघिल्लो टोलीसँग गरेको पाँच बुँदे सहमतिलाई अपुरो भनेको छ । त्यसमा उनीहरूको थप पाँच बुँदे माग छ ।

 

प्रकाशित : 9 April, 2023

प्रतिक्रिया दिनुहोस्