सगरमाथा आरोहण गर्न गएका तीन आरोही बेपत्ता

काठमाडौँ । चैत २९, सगरमाथा आरोहण गर्न गएका तीन जना शेर्पा आरोही बेपत्ता भएको जानकारी प्राप्त भएको छ ।
पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार उनीहरु बुधबार बिहान साढे ९ बजेदेखि हराइरहेका छन् ।
हराइरहेका आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन् । उनीहरु बेस क्याम्पबाट क्याम्प वानको बीचमा बेपत्ता भएका छन् । अहिले सिम्रिक एयरको हेलिकप्टरमार्फत उनीहरुको खोजी कार्य भइरहेको छ ।
उनीहरुको उद्धारका लागि स्थलमार्गबाट समेत टिम खटिएको छ । अहिले सगरमाथा आरोहणलाई सहज बनाउन बाटो बनाउने तथा अत्यावश्यक सामान लैजाने काम जारी छ । ती शेर्पा आरोही आफ्नो कम्पनीका व्यावसायिक आरोहीको सामान ओसारपसारमा खटिएका थिए ।