‘हामी नजाग्दा, हामी नगर्जिँदा स्यालहरु कराउन थाले’ : प्रचण्ड

काठमाडौँ । बैशाख १८, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेका हरेक सकारात्मक काममा प्रहार भइरहेको बताएका छन् ।
बहिर्गमित लडाकूलाई २ लाख रुपैयाँ दिने निर्णयमा पनि स्यालहुइँया मच्चाउन खोजिएको भन्दै यसलाई छुट दिन नसकिने बताए ।
माओवादीसम्वद्ध अखिल नेपाल ट्रेड युनियन महासंघको महाधिवेशनको उद्घाटन गर्दै प्रचण्डले परिर्वतनका उपलब्धीहरुलाई नकारात्मक रुपमा प्रचार गर्ने काम भइरहेको टिप्पणी गरे ।
शहीदहरुलाई शहीदका रुपमा सम्मान गरिनुपर्छ भन्दा प्रहार भएको र अयोग्य लडाकूहरुलाई २ लाख रुपैयाँ दिने निर्णयमा पनि स्याल हुइँया मच्चाउन खोजिएको उनले बताए ।
उनले भने, ‘मैले आफ्नै आविष्कारबाट निर्णय गरेको होइन, अर्कै सरकारले निर्णय गरेको एउटा परिस्थितिमा सर्वोच्च अदालतले बहिर्गमित लडाकूलाई २ लाख रुपैयाँ दिनू भनेपछि त्यही फैसला कार्यान्वयन गर्न खोज्दा स्यालहुइँया मच्चाउन खोजिएको छ ।’
नकारात्मक वातावरण बनाएर सम्पूर्ण त्यागलाई अपमानित गर्ने र उल्ट्याउने षड्यन्त्र अझ अगाडि जानसक्ने उनले बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी नजाग्दा, हामी नगर्जिँदा स्यालहरु कराउन थालेका छन्, स्यालहरुले रजाइँ गर्ने जस्तो गर्न थालेका छन् । त्यसलाई छुट दिन सकिंदैन ।’