धार्केस्थित गणेश खोला पुलमा फेरि भ्वाङ परी यातायात अवरुद्ध

सहयात्रा टिभी

काठमाडौं । बैशाख २०, पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएर भ्वाङ परी यातायात अवरुद्ध भएको छ ।

बन्द भएको १८ घण्टापछि मङ्गलबार दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग बुधबार १२ बजेदेखि फेरि बन्द भएको हो ।

धुनिबेशी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुबै तर्फी सवारी आवागमन बन्द भएको छ । नयाँ पुल निर्माणको लागि फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशन भएको जमिन भासिन पुगेको हो ।

त्यही जमिन भासिएको ठाउँमा ग्याविन जाली लगाएर यातायात सञ्चालन गरिएको थियो । अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन् । एकतर्फी सडक संचालनमा ल्याइए पनि मंगलबारदेखि नै जोखिम भने टरेको थिएन ।

 

प्रकाशित : 3 May, 2023

प्रतिक्रिया दिनुहोस्