सर्वोच्च शिखर सगरमाथामा छाउपडी प्रथा अन्त्यको सन्देश

सहयात्रा टिभी

काठमाडौँ । जेठ १६, साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुनुहुन्छ ।

२६ वर्षीया उहाँले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गर्नुभयो ।

सगरमाथा क्षेत्रमा झण्डै एक महिना बसेर लक्ष्य प्राप्त गर्नुभएकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउनका लागि क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गर्नुभयो । उहाँ गएको महिनाअघि नै सगरमाथा क्षेत्रमा पुग्नुभएको थियो । उहाँ यही जेठ २ गते राति क्याम्प–४ बाट शिखरतर्फ प्रस्थान गर्नुभएको थियो ।

मध्यम आयस्रोत भएको परिवारकी सदस्य रोकायालाई सगरमाथा चढ्नभन्दा बढी दुःख खर्च जुटाउनमा लाग्यो । उहाँले भन्नुभयो, ुखर्चका लागि जिल्लाभरका पालिकादेखि विभिन्न सङ्घसंस्था धाए, कतिले सहयोग पनि गरे, तर प्रायजसोले पछि गरौँला भन्दै टारे।ु

एड्भेन्चर कम्पनीलाई आधा रकम पछि तिर्ने सर्तमा सगरमाथा आरोहण गरेको उहाँले बताउनुभयो । सगरमाथाको चुचुरोमा पुग्न करिब २५ लाख रुपैयाँ खर्च लागेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेटस् जेठ १६, २०८०

प्रकाशित : 30 May, 2023

प्रतिक्रिया दिनुहोस्