उदयपुरको कटारीमा उत्पादन गरेको गोलभेँडा बिक्री गर्नै सास्ती

काठमाडौँ । जेठ २५, उदयपुरको कटारी नगरपालिका–११ का कृषकले ५० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गरेका छन् । तर गोलभेँडा बिक्री गर्न भने कृषकलाई हम्मेहम्मे परेको छ ।
बिक्री भए पनि उनीहरुले उचित मूल्य भने पाउन सकेका छैनन् । बजारमा भारतबाट आयात गरिएको गोलभेँडा सस्तोमा बिक्री भएका कारण स्थानीय उत्पादनले उचित मूल्य पाउन नसकेको हो ।
वडामा चार सय रोपनीभन्दा बढी जग्गामा खुलारुपमा र चार सय रोपनी जतिमा टनेलमा गोलभेँडा उत्पादन गरिएको छ । यो वडामा मात्रै यस वर्ष ५० टनभन्दा बढी गोलभेँडा उत्पादन भएको गोलभेँडा सङ्कलन केन्द्रका नुजराज कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार केन्द्रले जस्ताको छानो भएको भवनमा गोलभेँडा सङ्कलन गर्ने गरेको छ । चिस्यान केन्द्र नहुँदा गोलभेँडा भण्डारण गरेर राख्ने र पछि उचित मूल्य पाएपछि बिक्री गर्ने अवस्था छैन ।
कृषक पुष्पराज खड्का गोलभेँडा उत्पादन भएकामा जति खुसी हुनुहुन्छ त्यो भन्दा बढी उचित मूल्य नपाएकोमा दुःखी हुनुहुन्छ ।
यस वडाको गोलभेँडा ओखलढुङ्गा, सोलुखुम्बु, जिल्लाकै कटारी बजार, गाईघाट, सिन्धुलीको दुधौली र सिरहाको गोलबजारसम्म लगेर बिक्री गर्ने गरिएको जनाएको छ ।