Author: sahayatra

  • अनेरास्ववियु क्रान्तिकारीले सडकमै खाना पकाएर गरे सरकारको विरोध

    अनेरास्ववियु क्रान्तिकारीले सडकमै खाना पकाएर गरे सरकारको विरोध

    काठमाडौँ । भदौ २५, खाना पकाउने ग्यास नपाएको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले सडकमै खाना पकाएर सरकारको विरोध गरेको छ ।

    ग्यास नपाएको भन्दै उनीहरूले सरकारको विरोधमा काठमाडौंको आरआर क्याम्पस अगाडिको सडकमा खाना बनाएका छन् ।

    उनीहरूले सडकमै ईंटा राखेर चुलो बनाउनुका साथै दाउरा बालेर खाना बनाएका छन् भने सडकमै बसेर खाना खाएका छन् ।

  • बुधबार सेयर बजारका सबै सूचक घटे

    बुधबार सेयर बजारका सबै सूचक घटे

    काठमाडौँ । भदौ २४, बुधबार सेयर बजारका सबै सूचक घटेका छन् । बजार परिसूचक नेप्से १५.४३ अंक घटेको छ ।

     

    आजको कारोबारपछि नेप्से २५४५ अंकमा कायम भएको छ । अघिल्ला लगातार चार दिन बढेको बजार आज घटेको हो ।

    कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ४ अर्ब १९ करोडको भयो । ७४ कम्पनीको मूल्य बढ्दा १९२ को घट्यो भने ११ को स्थिर रह्यो । विकास बैंक समूह सबैभन्दा धेरै २.३७ प्रतिशत घट्यो ।

    इमर्जिङ नेपाल, सिन्धु विकास बैंक तथा जानकी फाइनान्सको मूल्य १५ प्रतिशत घट्यो । सिन्धु र जानकीलाई मुक्तिनाथ विकास बैंकले एक्विजिसन गर्ने समझदारी भएयता मूल्य घटिरहेको छ ।

    आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट, सानिमा मिडिल तमोर, इमर्जिङ नेपाल छन् ।

     

  • पूर्वप्रधानन्यायाधीश चोलेन्द्र माथिको महाअभियोग सक्कीयो

    पूर्वप्रधानन्यायाधीश चोलेन्द्र माथिको महाअभियोग सक्कीयो

    काठमाडौँ । भदौ २४, तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्धको महाअभियोगको औचित्य सक्कीएको छ ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद सचिवालयका तत्कालीन महासचिवको सफाइ पत्रविरुद्ध परेको रिट खारेज गरेसँगै चोलेन्द्रले सफाइ पाएका हुन् ।

    २०७९ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्तापछि संसद विघटनसँगै राणामाथिको महाअभियोग प्रस्ताव पनि स्वतः निष्क्रिय भएको भन्दै संसद सचिवालयका तत्कालीन महासचिव भरतराज गौतमले गरेको पत्राचारविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै रिट खारेज गरेको हो ।

    प्रधानन्यायाधीश मनोजकुमार शर्माको अध्यक्षतामा न्यायाधीशहरू सपना प्रधान, कुमार रेग्मी, विनोद शर्मा र सारंगा सुवेदी रहेको संवैधानिक इजलासमा चोलेन्द्रविरुद्धको महाअभियोगबारे बहस भएको थियो ।

    वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसहितले दायर गरेको रिटमाथि टीकाराम भट्टराई, शम्भु थापा, हरि दाहाल लगायतले बहस गरेका थिए । उनीहरुले राणामाथिको महाअभियोग जीवितै रहेको भन्दै त्यसमाथि कारबाहीका लागि परमादेश जारी हुनुपर्ने जिकिर गरेका थिए ।

    राणाविरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएको थियो । सुनुवाई भइरहे पनि महाअभियोग पारित भएको थिएन ।

     

  • डिक्सको ब्रिफिङ : यस किसिमको विपत्ति विश्वमा विरलै भएको मेरो अनुभव छ

    डिक्सको ब्रिफिङ : यस किसिमको विपत्ति विश्वमा विरलै भएको मेरो अनुभव छ

    काठमाडौँ । भदौ २४, सुरुङअन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको विपत्ति भएको बताएका छन्।

    भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीनहरुको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहेका डिक्सले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठलाई उद्धार कार्यको पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन्।

    विपत्तिको प्रकृति र उद्धारमा देखिएका चुनौती असाधारण रहेको उनको भनाइ छ। डिक्सका अनुसार बाढीले करिब ७२ किलोमिटर क्षेत्रलाई प्रभावित बनाएको र कतिपय स्थानमा हवाई उद्धारबाहेक तत्काल अन्य विकल्प नै नरहेको अवस्था थियो।

    अत्यन्तै साँघुरा गल्छी, बिग्रिएका सडक तथा पुल र हेलिकप्टरसमेत अवतरण गर्न नसक्ने भौगोलिक अवस्थाका कारण उद्धार टोलीले ठूलो जोखिम मोलेर काम गरिरहेको उनले बताए।

    उनले यस्तो विपत्तिका बेला कसैलाई दोष दिने समय नभएको बताउँदै नेपाली पक्षले उद्धारमा गरेको समन्वयको प्रशंसा गरे। नेपाल सरकार र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उद्धार कार्यमा अत्यन्तै समन्वयकारी भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो।

    सतहमा ठूलो विनाश देखिए पनि त्यसका आधारमा भूमिगत संरचनाभित्र जीवित मानिसको सम्भावना समाप्त भएको निष्कर्षमा पुग्न नहुने उनले बताए। जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचना अझै बाँकी रहेकाले सम्भावित जीवित व्यक्तिको खोजीलाई निरन्तरता दिनुपर्ने उनको धारणा छ ।

    उनले नेपालका जलविद्युत् आयोजनाका इन्जिनियरिङ डिजाइन तथा सुरुङ संरचनाको अध्ययन गरिरहेको र विपत्तिपछि सुरुवाती चरणमै उपलब्ध डिजाइन, नक्सा तथा अन्य प्राविधिक विवरणको अध्ययन गरेर उद्धारको सम्भावित बाटो पहिचान गर्न थालेको बताए।

    ‘मैले जलविद्युत् आयोजना र सुरुङहरूको इन्जिनियरिङ डिजाइन अध्ययन गरेको छु । विपत्ति आएपछि सुरुमा मैले उपलब्ध डिजाइन र प्राविधिक तथ्यांक हेरेँ,’ उनले भने।

    डिक्सका अनुसार सामान्य अवस्थामा सुरुङभित्र हुने दुर्घटना वा उद्धारका विषय सार्वजनिक चर्चामा कमै आउने गर्छन् । तर सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा ४१ जना कामदारलाई १७ दिनपछि सकुशल उद्धार गरिएको घटनापछि उहाँ अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएका हुन्।

    सिल्क्यारा उद्धारमा महत्वपूर्ण प्राविधिक भूमिका निर्वाह गरेका डिक्सले त्यसअघि पनि भूमिगत संरचना तथा टनेल सुरक्षासम्बन्धी क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका थिए।

    नेपालमा भइरहेको उद्धार प्रयासप्रति अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता रहेको उल्लेख गर्दै डिक्सले विपत्तिका कारण पीडित नेपालीलाई आफूहरू एक्लो नभएको सन्देश दिन चाहेको बताए।

     

  • मोहन बस्नेतले गरे गगन थापा हुत्तिहार भएको टिप्पणी

    मोहन बस्नेतले गरे गगन थापा हुत्तिहार भएको टिप्पणी

    काठमाडौँ । भदौ २४, नेपाली कांग्रेसका नेता मोहन बस्नेतले सभापति गगन थापा हुत्तिहार भएको टिप्पणी गरेका छन्। भक्तपुरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति थापा सरकारको भजन गाएर हिँडेको आरोप लगाए।

    उनले भने, ‘गगन थापाजीले सरकारको भजन गाउने सिवाय अरू काम केही गरिरहेको छैन। यस्तो पनि प्रमुख प्रतिपक्षी दल हुन सक्छरु हुतीहाराहरू।

    जेनजीहरूको घटनापछि सबभन्दा पहिला नेपालमा सभा गरेर विरोध गर्ने मान्छे यही समूहको कांग्रेस म हुँ। गगनजी र विश्वप्रकाशजीले हामीले गल्ती गर्‍यौँ, हाम्रा नेता मानेन, हामी सुध्रिन्छौँ, सच्चिन्छौँ, माफी देऊ, जेनजी हो भन्दै हिँडेको नालायक हुतीहारा हुन्।’

    उनले गगनले सरकारको भजन गाएर हिँड्नमा कुनै आश्चर्यको कुरा नभएको बताए। बिपी कोइरालाको जुत्ता गगन थापा लगाएको भनेर हावा कुरा गरेको टिप्पणी गरे।

    उनले थपे, ‘बिपी कोइरालाको जुत्ता गगन थापाजीले लाएर हिँड्या छु भनेर भन्नुभयो। पत्याउनेले पत्याइदिनु पर्‍यो नि। व्यवहारमा हेर्ने हो भने ६ फुटको नेता हाम्रो बिपी कोइराला, ५ फुट ४ इन्चको गगनजीलाई त्यो जुत्ता मिल्छरु ठिक हुन्छ? हावा कुरा हो।’

     

  • चिलिमेको सुरुङ उद्धारमा सहयोग गर्न पुगे कुलमान

    चिलिमेको सुरुङ उद्धारमा सहयोग गर्न पुगे कुलमान

    काठमाडौँ । भदौ २४, रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहजीकरण र प्राविधिक सहयोगका लागि कुलमान घिसिङ आफ्नो टोलीसहित आयोजनास्थल पुगेका छन् । नेपाली सेनाले सहजीकरणका लागि बोलाएपछि आफूहरु चिलिमे पुगेको घिसिङले नेपाल प्रेसलाई बताए ।

    ‘सुरुङभित्रको उद्धार कार्य कसरी अगाडि बढाउने भन्ने विषयमा नेपाली सेनाको टोलीसँग घिसिङ र उनको टोलीले आवश्यक छलफल गरिसकेको छ । छलफल सकिएलगत्तै टोली अहिले कार्यस्थल (साइट) मोबिलाइज भइरहेको उनले जानकारी दिए ।

    घिसिङसँग सो आयोजनास्थलमा पहिले चार वर्ष प्रत्यक्ष रुपमा बसेर काम गरेको अनुभव रहेको छ । यसबाहेक नेपाल विद्युत् प्राधिकरणमा रहँदा पनि आठदेखि नौ वर्ष सो क्षेत्रसँग सम्बन्धित भएर काम गरेका थिए । सोही लामो कार्यअनुभव र सुरुङको भौगर्भिक बनावटबारे जानकारी भएकाले सेनाले उनलाई छलफलका लागि बोलाएको हो ।

    सुरुङभित्र अहिले जनशक्तिमार्फत (म्यानुअली) काम भइरहेको छ, भने एक्सकाभेटर प्रयोग गरेर उद्धार अगाडि बढाउने निर्णय भएको छ । कार्यस्थलमा एक्सकाभेटर पु¥याउने काम जारी रहेको र आज बेलुका वा भोलि बिहानसम्ममा सुरुङभित्र एक्सकाभेटर छिराएर काम तीव्र पारिने घिसिङले बताएका छन् ।

    उद्धार कार्यलाई निरन्तरता दिन र सेनाको टोलीसँग सहकार्य जारी राख्नका लागि घिसिङ र उनको प्राविधिक टोली भोलिसम्म घटनास्थलमै रहने भएको छ ।