Author: sahayatra

  • सोलुखुम्बुको हुङ्कु खोला पहिरोका कारण थुनियो 

    सोलुखुम्बुको हुङ्कु खोला पहिरोका कारण थुनियो 

    काठमाडौँ । भदौ २६, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका– २ र ४ मा पर्ने हुङ्‍गा (हुङ्कु) खोला पहिरोका कारण थुनिएको छ । शुक्रबार बिहान गएको पहिरोका कारण खोला थुनिएको हो ।

    गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल, वडा नम्बर – २ तर्फ पर्ने क्षेत्रमा करिब ३५ मिटर अग्लो पहिरो खसेर खोला थुनिएको हो ।

    जसका कारण खोलामा करिब १०० मिटर लामो र १५ मिटर गहिरो कृत्रिम ताल बनेको सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी नविनराजा बुढाथोकीले जानकारी दिए ।

    उनका अनुसार बिहानबाट बनेको ड्याममाथिबाट विस्तारै पानी बग्न थालेको छ । तल्लो क्षेत्रमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाइएको उनले बताए ।

    प्रहरीले नदी किनारमा बसोबास गर्ने स्थानीयबासी तथा नजिकै रहेका दुई वटा हाइड्रोपावर आयोजनालाई सतर्क रहन आग्रह गरेको छ ।घटनास्थल इलाका प्रहरी कार्यालय बुङबाट करिब १० किलोमिटर दक्षिण(पूर्वमा पर्छ ।

    पहिरोले खोला थुनिएपछि बनेको यो कृत्रिम ड्याम जुनसुकै बेला फुट्न सक्ने जोखिम भने टरिसकेको छैन ।

    ड्याम फुटेमा हुङ्‍गा खोलाको पानी तल्लो तटीय क्षेत्र हुँदै सोताङ गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका हुँदै खोटाङ र ओखलढुङ्गा जिल्लाको दुधकोशी नदीसम्म प्रभाव पार्न सक्ने बताइएको छ ।

    प्रहरी नायव उपरीक्षक बुढाथोकीका अनुसार पहिरोको माथिबाट पानी बग्न थालेका कारण ठूलो जोखिम भने नरहेको बताउँछन् ।

     

  • चितवनमा जलेको विद्युतीय कारमा चालकको शव फेला

    चितवनमा जलेको विद्युतीय कारमा चालकको शव फेला

    काठमाडौँ । भदौ २६, भरतपुर महानगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गस्थित सर्भिस लेनमा आगलागीमा परेको विद्युतीय कारमा चालकको शव भेटिएको प्रहरीले जनाएको छ।

    शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलकाअनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको ईभीमा आगो लागेको देखेपछि दमकलको सहायतामा आगो निभाइएको थियो।

    आगो निभएपछि भित्र हेर्दा चालकको सिटमा एक शव फेला परेको हो। आगलागीबाट कार पनि पूर्ण रूपमा जलेको छ।

    कारमा कसरी आगलागी भयो खुलेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

  • Untitled post 156925

    काठमाडौँ । भदौ २६, युक्रेनको निप्रोपेत्रोव्स्क क्षेत्रअन्तर्गत पर्ने पावलोह्राद सहरको एउटा सपिङ मलमा रुसले गरेको ड्रोन आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन्।

    युक्रेनका गृहमन्त्री इभान विहिभ्स्कीका अनुसार दिउँसोको समयमा भएको यस आक्रमणमा सपिङ मलका पसल र वरपर रहेका सवारीसाधनहरूमा गम्भीर क्षति पुगेको छ। ‘सडकमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको समयमा यो आक्रमण भएको हो,’ उनले भनेका छन्।

    युक्रेनी सञ्चारमाध्यमहरूका अनुसार, यसै साताको सुरुमा जापोरिजिया र सुमी सहरमा रहेका अन्य दुई सपिङ मललाई पनि रुसी हवाई आक्रमणले निशाना बनाएको थियो।

    उता, रुसले बुधबार राति आफ्नो रिसोर्ट सहर सोचीमा युक्रेनले समुद्री ड्रोनमार्फत आक्रमण गरेको जनाएको छ।

    उक्त आक्रमणमा परी २८ जना घाइते भएको रुसी अधिकारीहरूले बताएका छन्। यसका साथै, अन्य युक्रेनी आक्रमणहरूमा थप तीन जनाको मृत्यु भएको पनि रुसले दाबी गरेको छ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण सुरु गरेको साढे चार वर्षभन्दा बढी समय बितिसकेको छ र दुई देशबीच निरन्तर युद्ध जारी छ।

    यसैबीच, आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरूले सुरु गरेको नयाँ शान्ति पहलले तत्काल कुनै ठोस नतिजा निकाल्ने सङ्केत देखिएको छैन।

    ती दूतहरूले मस्कोमा पुटिन र किभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छुट्टाछुट्टै वार्ता गरेका थिए तर युद्धविराम वा शान्ति सम्झौताको विषयमा कुनै ठोस सहमति हुन सकेको छैन।

     

  • मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

    मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

    काठमाडौँ । भदौ २५, मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ।

     

    आज (बिहीबार) बसेको बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमण स्वीकृत गरेको हो।

    सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री नेतत्वको टोली आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ भने १० गते स्वदेश फर्किनेछ।

     

     

  • बाढीबाट क्षति पुर्‍याएको आयोजना पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

    बाढीबाट क्षति पुर्‍याएको आयोजना पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

    काठमाडौँ । भदौ २५, गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोटमा ७८३ मेगावाट क्षमताका जलविद्युत् आयोजनामा क्षति पुगेको पाइएको छ ।

    राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनले रसुवा र नुवाकोटका १३ जलविद्युत आयोजना तथा २४ मेगावाट क्षमताका पाँचवटा सौर्य विद्युत आयोजनामा क्षति पुगेको देखाएको हो ।

    प्रतिवेदनअनुसार बाढीबाट ऊर्जा र सडक क्षेत्रमा सबैभन्दा ठूलो क्षति पुगेको छ । ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थान र पुनर्निर्माणका लागि मात्रै ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

    त्यस्तै, २५ मेगावाट क्षमताको नुवाकोट सौर्य विद्युत् आयोजनासहित अन्य सौर्य आयोजनासमेत बाढीबाट प्रभावित भएका छन् ।

    बाढीले आयोजनाका विद्युत् उत्पादन संरचना, पहुँचमार्ग, प्रसारण तथा अन्य पूर्वाधारमा क्षति पुर्‍याएको प्रतिवेदनले औंल्याएको छ । क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा ऊर्जा प्रणालीलाई पूर्ववत् अवस्थामा फर्काउन ठूलो रकम आवश्यक पर्ने देखिएको हो ।

    बाढीबाट प्रभावित आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकमध्ये अझै ९१७ जना सम्पर्कविहीन रहेको प्रतिवेदनमा उल्लेख छ ।

    बाढी गएको दुई साता पुग्न लाग्दासमेत ठूलो संख्यामा श्रमिक तथा कर्मचारी सम्पर्कविहीन छन् । उनीहरूको खोज उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न देशमा विज्ञ तथा प्राविधिकहरू र सम्बन्धित कम्पनीका प्राविधिक तथा विज्ञहरू समेत लागिरहेका छन् ।

     

  • जाजरकोटमा खोलाले बगाएर एक जना बेपत्ता

    जाजरकोटमा खोलाले बगाएर एक जना बेपत्ता

    काठमाडौँ । भदौ २५, भेरी कोरिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने ताक्सुगाड खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् ।

    नलगाड नगरपालिका–११ दम्काका रतनबहादुर दमाई खोलाले बगाएर बेपत्ता भएका हुन् । ताक्सुगाडमा वर्षायाममा सर्वसाधारणले जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता छ ।

    पुल निर्माणका लागि पटक–पटक आग्रह गरिएपनि सम्बन्धित निकायले चासो नदिँदा दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीयको गुनासो छ ।

    केही दिनअघि मात्रै ताक्सुगाड खोलाले एक जनालाई बगाएको थियो । उनलाई बीच खोलाबाट उद्धार गरिएको थियो । अहिले फेरि एक जना बेपत्ता भएपछि स्थानीयले तत्काल सुरक्षित आवतजावतको व्यवस्था गर्न माग गरेका छन् ।

    ताक्सुगाडमा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको वर्षौँ बितिसक्दा पनि निर्माण अघि बढ्न सकेको छैन । साउन २९ गते आएको बाढीले अस्थायी कजवे र झोलुङ्गे पुलसमेत बगाएपछि स्थानीयको आवतजावत थप जोखिमपूर्ण बनेको थियो ।

    भेरी कोरिडोरको महत्वपूर्ण खण्डमा पर्ने ताक्सुगाड हुँदै जाजरकोटबाट डोल्पासम्म यातायात सञ्चालन हुन्छ । स्थानीयले अब पनि पुल निर्माणमा ढिलाइ भए यस्ता घटना दोहोरिनसक्ने भन्दै सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन् ।