Author: sahayatra

  • एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन टुंग्याउन तीन नेता जुटे

    एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन टुंग्याउन तीन नेता जुटे

    काठमाडौँ । असोज ४, नेकपा ९एमाले०को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन टुंग्याउन तीन नेता छलफलमा जुटेका छन्।

     

    आइतबार दिउँसो कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल छलफलमा जुटेका हुन्। उनीहरू प्रतिवेदनलाई अन्तिम रुप दिनका लागि छलफल गरिरहेका छन्।

    यसअघि बसेको कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति जुटेको थियो। त्यसकै आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिन तीनै जना छलफल गरिरहेको एक नेताले जानकारी दिए।

     

  • एमाले पुनर्गठन कार्यदल बैठक ४ वजेसम्मलाई सर्‍यो

    एमाले पुनर्गठन कार्यदल बैठक ४ वजेसम्मलाई सर्‍यो

    काठमाडौँ । असोज ४,एमाले पुनर्गठन कार्यदल बैठकको निर्णय माइन्युट गर्न समय लाग्ने भएपछि सचिवालय बैठक ४ वजेसम्मलाई सरेको छ ।

    बिहानदेखि बसेको कार्यदल बैठकले तीन प्रतिवेदनलाई एउटै बनाउने र सचिवालयमा पेश गर्ने निर्णय भएको थियोे । तर, माइन्युट लेखनमा ढिलाइ भइरहेको कार्यदलका एक नेताले बताए ।

  • नयाँ प्रणालीबाट ड्राइभिङ लाइसेन्स छपाइको काम सुरु

    नयाँ प्रणालीबाट ड्राइभिङ लाइसेन्स छपाइको काम सुरु

    काठमाडौँ । असोज ४, सरकारले साउन १ गतेदेखि लागु गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ ।

    पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणालीमार्फत छपाइको काम सुरु गरेको हो ।

    नयाँ प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई थप छिटो,सहज र सेवामुखी बनाउनेछ।

    ईडीएलभीआरएसमा अपलोड भएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ ।

    यसबाट लाइसेन्स छपाइ तथा वितरणमा देखिँदै आएको पुरानो समस्या समाधान हुने मन्त्रालयले जनाएको छ ।

    पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ । सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफै छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ।

    सोहीअनुसार मधेश प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको छ। यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी सवारी चालक अनुमतिपत्र छपाइको काम सुरु गरेको हो ।

     

  • राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ

    राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ

    काठमाडौँ । असोज ४, राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् ।

    मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार आइतबार बिहान बेलबारीबाट पक्राउ परेका हुन् ।

    दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन । उनी पछिल्लो समय बालेन शाह सरकारका विरुद्ध सार्वजनिक रूपमा बोलिरहेका थिए ।

    साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरेको कटवालले बताए ।

    दाहाललाई आजै काठमाडौं पठाइने उनले बताए । दाहालविरुद्ध ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

    दाहाल बेलबारीमा कार्यक्रमका लागि पुगेका थिए । तर, प्रहरीले भने कार्यक्रमका बारेमा कुनै जानकारी नभएको बताएको छ ।

     

  • सीआईबीले एन्फा मुख्यालय सादोबाटोमा छापा मारेको पुष्टि

    सीआईबीले एन्फा मुख्यालय सादोबाटोमा छापा मारेको पुष्टि

    काठमाडौँ । असोज २, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालय मा छापा मारेको छ ।

    सीआईबीका एसएसपी तथा प्रवक्ता अनुपम शमशेर जबराले शुक्रबार एन्फा मुख्यालय सादोबाटोमा छापा मारेको पुष्टि गरे ।सीआईबीले अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको छ ।

     

     

  • सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तीन तहमा कार्यक्रम सञ्चालन

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तीन तहमा कार्यक्रम सञ्चालन

    काठमाडौँ । असोज २, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा शिक्षकको उत्तरदायित्व सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहबाट विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताएका छन् ।

    शुक्रवार राष्ट्रिय सभाको बैठकमा सांसद रुक्मिणी कोइरालाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको सिकाइ उपलब्धि बढाउन मन्त्रालयले सञ्चालन गरेका कार्यक्रमबारे प्रश्न गरेकी थिइन् ।

    जवाफमा मन्त्री पोखरेलले विद्यालय शिक्षा क्षेत्र योजना (एसईएसपी) तथा राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा रहेको जानकारी दिए ।

    मन्त्री पोखरेलका अनुसार संघबाट जाजरकोट, रुकुम पश्चिम र बझाङमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण भइरहेको छ । चेपाङ समुदायका विद्यार्थीलाई लक्षित आवासीय विद्यालय निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरी काम अघि बढाइएको उनले बताए ।

    त्यस्तै दुई हजारभन्दा बढी विद्यार्थी भएका विद्यालयको भौतिक पूर्वाधार विकास, कमजोर इक्विटी इन्डेक्स भएका स्थानीय तहमा प्राविधिक सहायता, शिक्षक तथा विद्यार्थी आदानप्रदान कार्यक्रम तथा टेलिभिजन र अनलाइन माध्यमबाट शिक्षण–सिकाइसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको मन्त्री पोखरेलले जानकारी दिए ।

    पाठ्यक्रमलाई समयानुकूल बनाउन नियमित रूपमा विकास तथा परिमार्जनको काम भइरहेको उल्लेख गर्दै उनले मन्त्रालयले काठमाडौंमा मात्र बसेर नभई विभिन्न जिल्ला र विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग अन्तरक्रिया गरी पाठ्यक्रम निर्माणमा सुझाव लिइरहेको बताए ।

    विद्यार्थीको सिकाइ उपलब्धि मापनका लागि राष्ट्रिय विद्यार्थी उपलब्धि परीक्षण पनि संघबाट सञ्चालन भइरहेको उनले बताए । प्रदेशमार्फत शिक्षकको पेसागत विकास तालिम तथा अपाङ्गता भएका बालबालिकाका लागि पूर्वाधारयुक्त आवासीय विद्यालय सञ्चालनको तयारी भइरहेको मन्त्री पोखरेलले जानकारी दिए ।

    स्थानीय तहबाट भने दिवा खाजा, विशेष शिक्षाका लागि आवासीय विद्यालय, कक्षा ६ देखि ८ तथा कक्षा ९ र १० मा अंग्रेजी, गणित र विज्ञान विषयका लागि शिक्षण सहयोग अनुदान, आधारभूत सिकाइ प्रवर्द्धन, प्रति विद्यार्थी लागतमा आधारित शिक्षण सिकाइ व्यवस्थापन अनुदानलगायतका कार्यक्रम सञ्चालन भइरहेको मन्त्री पोखरेलको भनाइ छ ।

    त्यसैगरी विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदान, विपन्न विद्यार्थीका लागि छात्रवृत्ति, शैक्षिक अनुशासन प्रवर्द्धन, छात्राका लागि निस्शुल्क स्यानिटरी प्याड, निस्शुल्क पाठ्यपुस्तक, स्थानीय विषय तथा मातृभाषामा शिक्षण र विद्यालय पूर्वाधार विकासका कार्यक्रमसमेत सञ्चालन भइरहेको उनले बताए ।