Author: sahayatra

  • संविधानदिवसलाई भव्यताका साथ मनाउन एमालेको निर्देशन

    संविधानदिवसलाई भव्यताका साथ मनाउन एमालेको निर्देशन

    काठमाडौँ । असोज १, नेकपा (एमाले)ले संविधान दिवसलाई भव्यताका साथ मनाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ।

     

     

    बिहीबार एमाले महासचिव शंकर पोखरेलले सबै प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीलाई पत्राचार गरेर संविधान दिवस मनाउन भनेको छ। असोज ३ गते संविधान दिवस मनाइने गरेको छ।

    एमालेको पत्रमा भनिएको छ, ‘असोज ३ थत १२औं संविधान दिवसका अवसरमा विगतका वर्षहरूमा झैं यस वर्ष पनि संविधान दिवस विभिन्न रचनात्मक कार्यक्रम गरी उत्साहजनक र भव्य रुपमा मनाउन मातहतका सम्पूर्ण कमिटीहरूलाई दिर्नेश गरिन्छ।’

    एमालेले संविधान दिवसमा आ–आफ्नो क्षेत्र र स्तरमा संविधानको रक्षाको सन्देशसहित प्रभातफेरी, दीपप्रज्वलन, विचार गोष्ठ, सरसफाइ तथा अन्य रचनात्मक कार्यक्रम गर्न भनेको छ।

  • गुन्डुमा फेरि एमाले अध्यक्ष ओली हटाउने एजेन्डामा बैठक

    गुन्डुमा फेरि एमाले अध्यक्ष ओली हटाउने एजेन्डामा बैठक

    काठमाडौँ । असोज १, एमालेको रोचक पक्ष– यसका अध्यक्ष केपी शर्मा ओली जुन घरमा बस्छन्, त्यही घरमा उनलाई पार्टीको नेतृत्वबाट हटाउने एजेन्डामा बैठक चल्नेगर्छ ।

    र, त्यो बैठक आज बिहीबार पनि जारी छ । उपाध्यक्ष रामबहादुर थापा बादल, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, भानुभक्त ढकाल, विष्णु रिमाल लगायत त्यो बैठकमा सामेल छन् ।

    ओलीसँग निकट रहेका उपाध्यक्ष थापाले यसअघि नै गुन्डुमा बैठक राख्न प्रस्ताव गर्दा केही नेताहरु मानेका थिएनन् । तर ओलीको स्वास्थ्य लगायत कारण देखाएर उनीहरु फेरि गुन्डु पुगेका छन् ।

    पार्टी स्रोतका अनुसार अध्यक्ष ओलीले पार्टी पुनर्गठनका लगभग सबैजसो एजेन्डामा सहमति जनाउने संकेत गरे पनि नेतृत्व नछाड्ने स्पष्ट गरेका छन् ।

    यसअघि एमाले कार्यदलको प्रतिवेदनमा केही समस्या देखाउँदै त्यसलाई हल गर्न सम्पादन समिति निर्माण गरिए पनि नेताहरुबीच कुरा मिल्न सकेको थिएन ।

    उपाध्यक्ष थापा उक्त कार्यदलका संयोजक छन् । ओलीसँग लामै निकटतामा रहेका महासचिव शंकर पोखरेलचाहिँ सदस्य सचिव । प्रतिवेदन लेख्ने जिम्मा पाएका पोखरेलले प्रतिवेदनका निष्कर्षलाई लिएर अडान नछाडेपछि कार्यदलमा एकमत बनेको थिएन । थापाले पोखरेलको प्रतिवेदन फिर्ता लिएर जानुपर्ने प्रस्ताव राखे पनि अरु नेताले समेत त्यसलाई मानेका थिएनन् ।

    तर गुन्डुमा अध्यक्ष ओलीसँग केही चरण छलफलपछि अर्का उपाध्यक्ष विष्णु पौडेल उनलाई निरन्तर अध्यक्ष मानेर जानेमा नरम देखिएका छन् ।

    पार्टीभित्र पुनर्गठनको धार बलियो बने पनि अध्यक्ष ओली त्यसलाई मान्न तयार छैनन् । यस्तो अवस्थामा असोज ५ देखि ७ सम्म केन्द्रीय कमिटी बैठकमा कसरी जाने भन्ने छलफल गुन्डुमा चलिरहेको छ ।

     

  • प्रतिनिधिसभा बैठक अहिले जारी

    प्रतिनिधिसभा बैठक अहिले जारी

    काठमाडौँ । असोज १, सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक अहिले जारी छ। बैठकको शून्य समयमा अहिले सांसदहरुले आआफ्ना धाराणा राखिरहेका छन्।

    आजको बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ।

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।

     

  • फोहोरमैला व्यवस्थापन सम्बन्धी विधेयक संसद्मा दर्ता

    फोहोरमैला व्यवस्थापन सम्बन्धी विधेयक संसद्मा दर्ता

    काठमाडौँ । असोज १, फोहोरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहीबार यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।

    उनकाअनुसार फोहोरमैलाको उत्सर्जन, संकलन, बिसर्जन र समग्र व्यवस्थापनमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भूमिका र जिम्मेवारी स्पष्ट गर्न विधेयक ल्याइएको हो ।

    यी निकायहरूबीच प्रभावकारी समन्वय कायम गर्न, फोहोरमैलाको समुचित तथा प्रभावकारी व्यवस्थापनद्वारा स्वच्छ तथा स्वस्थ बातावरण कायम गर्ने उद्देश्य रहेको छ।

    पूर्वाधार विकासमन्त्री लम्सालले विधेयकमै लेखेका छन्, ‘मानव स्वास्थ्य तथा बाताबरणमा पर्नसक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न र चक्रीय अर्थतन्त्रको अबधारणा अनुरूप फोहोरमैला प्रशोधन गरी स्रोत सामग्रीको रूपमा उपयोग गर्ने समेतको व्यवस्थाको लागि बाञ्छनीय भएकोले संघीय संसदमा यो विधेयक प्रस्तुत गरेको छु ।’

    नेपालको संबिधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ बाताबरणमा बाँच्न पाउने हक सुनिश्चित गरेको छ । वातावरणीय प्रदूषण वा हासवाट हुने क्षतिवापत पीडितलाई प्रदूषकबाट कानूनबमोजिम क्षतिपूर्ति पाउने हक छ ।

    संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित गरेको छ ।

     

  • भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा गर्नेहरूको भिड

    भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा गर्नेहरूको भिड

    काठमाडौँ । असोज १, विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा गर्नेहरूको भिड लागेको छ ।

    बिहानैदेखि दर्शानार्थीहरू आफ्ना मोटरसाइकल, स्कुटर, कार, ट्याक्सी तथा अन्य सवारीसाधन लिएर पूजा गर्न मन्दिर पुगेका छन् ।

    विश्वकर्मा पूजाका दिन सवारीसाधन, मेसिनरी, औजार तथा विभिन्न उपकरणको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहँदै आएको छ ।

    विश्वकर्मा पूजाको अवसरमा यातायात व्यवसायी, चालक, मेकानिक, उद्योग तथा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकदेखि सर्वसाधारणसम्मले आफ्ना सवारी तथा औजारको पूजा गर्ने गरेका छन् ।

  • तौलिहवा सडकखण्डमा दुई स्कुटी ठोक्किँदा एक जनाको मृत्यु

    तौलिहवा सडकखण्डमा दुई स्कुटी ठोक्किँदा एक जनाको मृत्यु

    काठमाडौँ । असोज १, कपिलवस्तुको बाणगंगा नगरपालिका–४ गजेहडास्थित चार नम्बर–तौलिहवा सडकखण्डमा दुई स्कुटी ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    बुधबार साँझ गजेहडाबाट सिउटीतर्फ जाँदै गरेको लु.प्र.०१–०१२ प १२६५ नम्बरको स्कुटीले सोही दिशातर्फ गइरहेको लु.३ त ७३८३ नम्बरको ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा अर्को दिशाबाट आउँदै गरेको लु.प्र.०१–००९ प २४०२ नम्बरको इ–स्कुटीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताए ।

    दुर्घटनामा स्कुटी चालक २७ वर्षीय रुद्रनारायण थारू गम्भीर घाइते भएका थिए । रुपन्देहीको कञ्चन गाउँपालिका–५ भैसाही निवासी थारूलाई उपचारका लागि पिपरा अस्पताल पुर्‍याइए पनि चिकित्सकले साँझ नै मृत घोषणा गरेका थिए ।

    दुर्घटनामा ट्याक्टर चालक बाणगंगा नगरपालिका–११ मैरीका ३५ वर्षीय बमबहादुर चौधरी र इ–स्कुटी चालक बाणगंगा नगरपालिका–८ बोडगाउँकी ३५ वर्षीया रेखा घिमिरे घाइते भएका छन् । घिमिरेको युनाइटेड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।