Category: फिचर

राष्ट्रको लागि उल्लेखनिय र उदाहरणीय काम गरी प्रेरणाको श्रोत बनेका व्यक्ति, व्यक्तित्व लगायतलाई हामी यहां स्थान दिन्छौ । (भिडियो सहित)

  • कमलादीमा गणेश पूजा गर्नेहरुको चहलपहल

    कमलादीमा गणेश पूजा गर्नेहरुको चहलपहल

    काठमाडौं । भदौ ११, प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने ‘गणेश चतुर्थी’ पर्व आज मनाइँदै छ । यसै अवसरमा गणेश मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ ।

    आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायकसहित काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पनि भक्तजनहरु पुगेका छन् ।

    सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको विश्वास गरिन्छ । भाद्र शुक्ल तृतीया (तीज)का दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्नबाधा नआओस् भनी कामना गर्दै गणेश पूजा गर्ने चलन छ ।

     

     

     

     

     

     

  • आज नागपञ्चमी पर्व नागको पूजा अर्चना गरी मनाइँदै

    आज नागपञ्चमी पर्व नागको पूजा अर्चना गरी मनाइँदै

    काठमाडौं । साउन १३, नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरका मूलढोकामा नागको चित्र टाँस्ने र नाग दहहरुमा पुगेर पूजा गर्ने चलन छ ।

    यसरी नागको पूजा गर्दा घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दु:ख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।

    यही विश्वासका साथ काठमाडौंको नागपोखरी, टौदह लगायतका स्थानमा दूध चढाउने र पूजा गर्नेहरुको भिडभाड छ ।

    नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।

    आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ ।

    आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।

    वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ ।

    नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।

     

     

     

     

     

  • बुद्ध जन्मस्थल लुम्बिनी हट्यो युनेस्कोको सम्भावित खतराको सूचीबाट

    बुद्ध जन्मस्थल लुम्बिनी हट्यो युनेस्कोको सम्भावित खतराको सूचीबाट

    काठमाडौं । असार २७, बुद्ध जन्मस्थल लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट तत्कालका लागि हटेको छ ।

    फ्रान्सको पेरिसमा जारी युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७ औं सेसनले तत्कालका लागि लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो ।

    खतराको सूचीमा पर्नबाट जोगिन संरक्षणमैत्री र सुधारका काम भइरहेकाले युनेस्कोले एक वर्षका लागि खतराको सूचीमा नराख्ने निर्णय गरेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए ।

    बुल्गेरियाका प्रोफेसर निकोले नेनोवको अध्यक्षतामा पेरिसमा सम्पन्न बैठकले लुम्बिनीलाई एक वर्षका लागि खतराको सूचीमा नराख्ने निर्णय गरेको हो ।

    यसअघि पनि वर्ल्ड हेरिटेज सेन्टर र इकोमसले २०२२ मा सम्पदाविज्ञ रोलेन लिन र प्रोफेसर कारिया संलग्न रहेको रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाएर दिएको प्रतिवेदनका आधारमा सन् २०२४ मा लुम्बिनीलाई सम्भावित खतराको सूचीमा राखेको थियो ।

    दिल्लीमा गत साउनमा आयोजित युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४६औं सेसनमा लुम्बिनीलाई खतराको सूचीमा किन नराख्ने भन्ने विषयमा छलफल हुँदा भारतको संशोधन प्रस्तावका कारण खतराको सूचीमा पर्नबाट जोगिएको थियो ।

    त्यहाँ दिइएका सुझाव र निर्देशन अनुसार सम्भावित खतराको सूचीबाट जोगाउन विज्ञ विशेषज्ञ बोलाएर लुम्बिनीमा वर्ल्ड हेरिटेज इन्टरनेसनल कन्फरेन्स समेत गरिएको थियो ।

     

  • टुँडिखेलमा विविध कार्यक्रम आयोजना गरी सोनाम ल्होछार मनाउँदै

    टुँडिखेलमा विविध कार्यक्रम आयोजना गरी सोनाम ल्होछार मनाउँदै

    काठमाडौं । माघ १७, आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदै छन् ।

    सोनाम ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरिएको छ ।

    तामाङ समुदायको विभिन्न संघसंस्थाले टुँडिखेल वरपर साँस्कृतिक झाँकीसहितको र्‍याली पनि निकालेका छन् ।

    ल्होछारमा तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछार २८६१ हो । आजदेखि नै ड्रुक अर्थात् ड्र्यागन वर्गको विदाई र डुल सर्प अर्थात वर्गरवर्षमा प्रवेश भएको छ ।

    प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

    ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

    राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाइँदै छ ।

     

  • बेहुलीझैं सिँगारिएको पर्यटकीयस्थल दोमुखा

    बेहुलीझैं सिँगारिएको पर्यटकीयस्थल दोमुखा

    काठमाडौं । मंसिर ५, कनकाई नदी किनारमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखालाई यतिबेला बेहुलीझैं सिँगारिएको छ । पहाडको फेदमा रहेको यो क्षेत्र जिल्लाको आकर्षक पर्यटकीय गन्तव्य मध्येको एक हो ।

    आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्न रु ४५ हजार लागतमा उक्त स्थललाई तीन सय वटा विभिन्न रङका छाताले बेहुलीझैँ सिँगारिएको छ ।

    शिवसताक्षी नगरपालिका-१० मा पर्ने दोमुखा पूर्वपश्चिम राजमार्ग माईधार बजारबाट उत्तर तीन किलोमिटरमा छ ।

    धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित दोमुखामा नवदम्पतीको फोटो खिच्न, विभिन्न म्युजिक भिडियो, चलचित्र छायाङ्कन र टिकटक बनाउन आउनेहरू पछिल्लो समय बढेका दोमुखा पर्यटन विकास समितिका अध्यक्ष धनप्रसाद लावतीले बताए ।

    दोमुखामा आकर्षक बुद्धपार्क, व्यवस्थित वनभोजस्थल, बाल उद्यन, बहुसांस्कृतिक सङ्ग्रहालयलगायत संरचना छन्। दोमुखा सडकको प्रवेशद्धार माईधारमा आकर्षक द्धार निर्माण गरिएको छ। यहाँ आउने पर्यटकलाई मध्यनजर गरी ३० वटा बढी सानाठूला होटलसमेत सञ्चालनमा छन् ।

    पालिकाले यस क्षेत्रका सडकका दुवैतिर सडकबत्ती जडान गरेर झिलीमिली बनाउने कार्यलाई अघि बढाएको शिवसताक्षी नगरपालिकाका प्रमुख रोशन थोप्राले जानकारी दिए।

    दोमुखामा साँझमा पनि पर्यटक आउने वातावरण बनाउन सन्ध्याकालीन कार्यक्रम पनि आयोजना गरिने योजना नगरप्रमुख थोप्राले बताए ।

    हाल सो समितिमार्फत नगरपालिका, प्रदेश र सङ्घीय सरकारको आर्थिक सहयोगमा दोमुखामा कैयौँ भौतिक संरचना निर्माण भएका छन् ।

     

     

  • वसन्तपुरमा इन्द्रजात्राको रौनक

    वसन्तपुरमा इन्द्रजात्राको रौनक

    काठमाडौं । असोज १, वसन्तपुरमा इन्द्रजात्राको रौनक छाएको छ । हिन्दू धर्ममा वर्षा र सहकालका देवता मानिने इन्द्रको पूजा आराधना गरी मंगलबार काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व मनाइएको छ ।

    प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व उपत्यकासँगै धुलिखेल र दोलखामा पनि मनाइन्छ ।

     

    भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

    मंगलबार इन्द्रजात्राको मुख्य दिन बसन्तपुरमा भव्य रुपमा मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, मन्त्रीहरु, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोललगायतले बसन्तपुरमा इन्द्रजात्राको अवलोकन गरेका छन् ।

    इन्द्रजात्रामा राष्ट्रप्रमुखले हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।

    इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

     

    इन्द्रजात्रामा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।