Category: फिचर

राष्ट्रको लागि उल्लेखनिय र उदाहरणीय काम गरी प्रेरणाको श्रोत बनेका व्यक्ति, व्यक्तित्व लगायतलाई हामी यहां स्थान दिन्छौ । (भिडियो सहित)

  • धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ शहर’ घोषणा

    धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ शहर’ घोषणा

    काठमाडौं । भदौ १२, विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई नेपालको पहिलो स्वस्थ शहर घोषणा गरेको छ ।

    सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ शहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको छ ।

    सङ्गठनका प्रमुख डा सुभाजी गुडले मङ्गलबार नेपालको पहिलो स्वस्थ शहर र एसियाको दोस्रो स्वस्थ शहर भएको घोषणा गरेका हुन् । गुडद्वारा घोषणासँगै धुलिखेललाई नेपालको पहिलो स्वस्थ शहर भएकामा पाँच हजार डलर पुरस्कार घोषणा भएको थियो ।

    एसियामा पहिलो स्वस्थ शहर भारतको पुणे नगर बन्दा र ६५ दशमलव ४८ अङ्क प्राप्त गरी धुलिखेल दोस्रो स्थानमा रहेको घोषणा भएको हो ।

    एसियाको दोस्रो र नेपालको पहिलो स्वस्थ शहर घोषणा भएको तथा पाँच हजार डलर पुरस्कार प्राप्त भएको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले बताए ।

    पर्यटकीय धुलिखेल नगर हाल ‘आरोग्य शहर’ अभियानमै छ । धुलिखेलले सहस्राब्दी दिगो विकास लक्ष्य (एसडिजी)अन्तर्गतका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी चार लक्ष्य पूरा गरेपछि स्वास्थ्य क्षेत्रमा फड्को मारेको हो ।

    नगरले ती चार लक्ष्यको प्रतिवेदन गत अक्टोबर पहिलो साता थाइल्याण्डस्थित संयुक्त राष्ट्रसङ्घमा पेश गरेको थियो । त्यतिबेला उक्त ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको दाबी गरिएको थियो ।

    नगरले हाल १२ वडामा १५ स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छभने सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पुर्याउने कामसमेत सकेको जनाएको छ ।

     

  • गाईजात्रालाई तेस्रोलिंगी तथा अल्पसंख्यक समुदायले गौरव दिवसका रुपमा मनाए

    गाईजात्रालाई तेस्रोलिंगी तथा अल्पसंख्यक समुदायले गौरव दिवसका रुपमा मनाए

    काठमाडौं । भदौ ४, काठमाडौं उपत्यकासहित नेवार समूदायको बसोबास रहेका ठाउँमा मनाइने गाईजात्रा पर्वलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले फरक तरिकाले मनाएका छन् ।

    तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायका सदस्यले गाईजात्रालाई प्राइड डे अर्थात गौरव दिवसका रुपमा मनाएका हुन् ।

    नील हिरा समाजको आयोजनामा २० वर्षदेखि गाईजात्राका दिन तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायले गौरव दिवसका रुपमा मनाउँदै आएका छन् ।

    त्यसैक्रममा यसपालि पनि उनीहरु र उनीहरुको अधिकारको क्षेत्रमा कार्यरत व्यक्तिको सहभागितामा काठमाडौंमा र्‍याली निकालिएको छ ।कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडी पनि सहभागी भएका छन् ।

     

    ठमेल सञ्चयकोष भवन अघिल्तिरबाट सुरु भएको र्‍याली वसन्तपुर हुँदै टुँडिखेलसम्म आएको थियो । र्‍यालीपछि सांगीतिक कार्यक्रमसमेत गरिएको छ ।

  • नेपालका विभिन्न ठाउँमा ‘कोदो दिवस’ मनाउँदै

    नेपालका विभिन्न ठाउँमा ‘कोदो दिवस’ मनाउँदै

    काठमाडौं । साउन १५, कोदोलाई नेपालको रैथाने खाद्य बाली हो । आज साउन १५ गते नेपालका विभिन्न ठाउँमा ‘कोदो दिवस’ अनौपचारिक रूपमा मनाउने गरिन्छ ।

    कोदो रोप्ने मुख्य सिजन साउन भएकाले अनौपचारिक रूपमा १५ साउनलाई कोदो दिवसका रूपमा मनाउँदै आएको कृषि मन्त्रालयले जनाएको छ ।

    मुलुकका ७७ जिल्लामा कोदो खेती गरिएको पाइए पनि यो उत्पादनका हिसाबले अत्यन्तै कम छ । नेपालमा सबैभन्दा धेरै यसको खेती हुने जिल्ला खोटाङ, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा, कास्की, ओखलढुंगा, गोरखा र सिन्धुली हुन् ।

    कोदो कम वर्षा हुने क्षेत्र, कम उर्वर भूमि, सिञ्चित र असिञ्चित दुवै अवस्थामा पनि उब्जिन सक्ने भए पनि यसको व्यावसायिक उत्पादन हुन नसकेको कृषि मन्त्रालयका अधिकारीहरू स्विकार्छन् ।

    तर, कोदो नेपालको रैथानै बाली भनिरहँदा नेपालले करोडौंको आयात गरेको तथ्यांक भेटिन्छ । भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०र८१ मा मात्रै १ करोड ५२ लाख ९२ हजार किलो अर्थात् ७५ करोड ४१ लाख रुपैयाँको कोदो आयात भएको छ ।

    यस्तै कोदोको बिउ २ लाख २८ हजार रुपैयाँ बराबर आयात भएको छ । यसो त नेपालले कोदो आयात मात्रै नभई निर्यात पनि गर्छ, तर थोरै मात्रामा ।

    गत आव नेपालले आठ देशमा कोदोको बिउ निर्यात गरेको थियो । यसले नेपाली कोदोको बिउ अस्ट्रेलिया, हङकङ, जापान, क्यानडा, इटाली, कोरिया, अमेरिका, वेलायतमा निर्यात भएको देखिन्छ ।

    जसमा सबैभन्दा धेरै दक्षिण कोरियामा २८ लाख ६५ हजार रुपैयाँ बराबर निर्यात भएको छ । यस्तै अस्ट्रेलिया, हङकङ र कोरियालाई थोरै भए पनि कोदो निर्यात गरेको देखिन्छ ।

    कृषि मन्त्रालयका एक अधिकारीका अनुसार यसरी कोदो निर्यात हुनु नेपाली बिउको विश्व बजारमा माग रहेकाले नमुनाका रूपमा गइरहेको हो ।

     

  • आज मिथिलामा नारीले व्रत बसेर वटसावित्री पर्व मनाउँदै

    आज मिथिलामा नारीले व्रत बसेर वटसावित्री पर्व मनाउँदै

    काठमाडौं । जेठ २४, आज ज्येष्ठ कृष्णपक्षको आमावस्या । मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन् ।

    वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ । वटवृक्ष भएका स्थानमा जम्मा भएर मनाइने यो पर्वमा आज बिहानैदेखि वरपीपल भएका स्थानमा चहलपहल बढेको छ । नयाँ वस्त्र लगाएका महिला सामूहिक गीत गाउँदै हर्षपूर्वक यो पर्व मनाउँदै छन् ।

    पौराणिक कथाअनुसार सत्य युगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा मिथिलानीले यसै कामनाका साथ यो पर्व मनाउँदै आएका छन् ।

    जेठ कृष्ण चतुर्दशीका दिन चोखो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्ष (वरको रुख)को फेदमा बर्तालु मिथिलानीले सामुहिक रुपमा सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गरेर यो पर्व मनाउँछन् । बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ ।

    सती सावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर ढलेका आफ्ना पति सत्यवानलाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा हो ।

    मिथिलामा केही दशकअघिसम्म ब्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने गरेको यो पर्व हिजोआज सबै जातजातिका मिथिलानीले मनाउन थालेका छन् ।

     

  • मनै लोभ्याउने जाकारान्डा फूलको बैजनी रङ्ग

    मनै लोभ्याउने जाकारान्डा फूलको बैजनी रङ्ग

    काठमाडौं । वैशाख २६,  पानि परेर खुलेको आकासमा बैजनी रङ्गको जाकारान्डा फूलले प्रकृति प्रतिको आस्चर्य भाव झल्कीने मन मोहक दृश्यले चक्रपथ क्षेत्रको शोभासमेत बढाएको छ ।

    हरेक वर्ष वसन्त ऋतुमा सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा जाकारान्डा फुल यसरी नै ढपक्कै फुलेको देखिन्छ ।  चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकारान्डा फूलले त्यहाँ जानेलाई लोभ्याउने गरेको छ ।

    अहिले हरेक दिन बेलुकापख फूललाई पृष्ठभूमिमा पारेर फोटोरभिडियो खिच्नेहरूको लाम लाग्ने गरेको छ । बैजनी रङ्गमा फुलेको जाकारान्डा फूलको सुन्दर दृश्यमा धेरै जना रमाइरहेका देखिन्छन् ।

    महानगरपालिकाले चक्रपथ छेउमा जाकारान्डा फूलका बिरुवा रोपेको छ । तीमध्ये केही फुल्न शुरु गरेका छन् भने केही भर्खर हुर्कँदैछन् ।

    अहिले ललितपुरको जावालाखेल, लगनखेल, कुपण्डोललगायत विभिन्न ठाउँमा जाकारान्डा फुलेका देख्न सकिन्छ भने काठमाण्डौ उपत्यकाका अरू विभिन्न ठाउँमा पनि जाकारान्डा फुलेर मनमोहक देखिएको छ ।

     

  • कतारका राजा शेखको भव्य स्वागतमा २१ तोपको सलामी

    कतारका राजा शेखको भव्य स्वागतमा २१ तोपको सलामी

    काठमाडौं । वैशाख ११, कतारका राजा शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणको लागि काठमाडौं आएका छन् ।

    निजी विमानमार्फत काठमाडौं अवतरण गरेका थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

    त्यसपछि नेपाली सेनाको टोलीले विमानस्थलमा उनलाई गार्ड अफ अनर प्रदान गरेको छ । कतारका अमिरको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो।

    थानीको सुरक्षाका लागि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनको कारगेड हिंड्ने सडक पूर्णरूपमा खाली छ ।

    राजा थानीको स्वागतका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए।

    कतारका अमिरले आजै साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ। अमिरको सम्मानमा राष्ट्रपति पौडेलले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ।