Category: फिचर

राष्ट्रको लागि उल्लेखनिय र उदाहरणीय काम गरी प्रेरणाको श्रोत बनेका व्यक्ति, व्यक्तित्व लगायतलाई हामी यहां स्थान दिन्छौ । (भिडियो सहित)

  • आज चैते दशैँ देश भरका देवीका मन्दिरमा भक्तजनको भीड लाग्ने

    आज चैते दशैँ देश भरका देवीका मन्दिरमा भक्तजनको भीड लाग्ने

    काठमाडौं । वैशाख ४, आज मङ्गलवार चैते दशैँ पर्व मनाइँदैछ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ ।

    वर्षमा चार वटा नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ ।

    आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैँ मनाउने गरिन्छ ।

    आज देशभरका शक्तिपीठ एवम् देवीका मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । काठमाण्डौ उपत्यकाका देवी मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । हनुमानढोकामा आज विशेष पूजा गरिन्छ ।

    यस्तै भोलि बुधवार नवमीको दिन श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमी मनाउने गरिन्छ ।

    रामनवमीको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ । चैते दशैँको अवसरमा आज गण्डकी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

     

  • भक्तपुरमा ३२ खटसहितको सिन्दूर जात्रा मनाइयो

    भक्तपुरमा ३२ खटसहितको सिन्दूर जात्रा मनाइयो

    काठमाडौं । वैशाख २, मध्यपुरथिमी क्षेत्रमा हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दूर जात्रा मनाइएको छ ।

     

    बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले हर्षोल्लासका साथ सिन्दूर खेलेर जात्रा मनाएका हुन् । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दूरे जात्रा मनाइने गरिन्छ ।

    जात्रामा विभिन्न परम्परागत बाजा बजाउँदै देवताका मूर्तिसहितको खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दलेर रमाइलो गर्ने भएकाले यसलाई सिन्दूर जात्रा भनिएको हो ।

    जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर एवम् फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

     

     

  • अन्टार्कटिकामा बरफ पग्लिने गति बढेर हिमनदी बन्न थाल्यो

    अन्टार्कटिकामा बरफ पग्लिने गति बढेर हिमनदी बन्न थाल्यो

    काठमाडौं । फागुन १५, एजेन्सी वैज्ञानिकहरूले अन्टार्कटिकामा कहाँ र कहिले बरफ पग्लिन थाल्छ भन्नेबारे पहिलाभन्दा राम्रो र धेरै जानकारी पाउन सकेको बताएका छन् ।

    उनीहरुले बरफको सतहमा ढिक्काको आकार परिवर्तन भएर हिमनदी बन्ने ठाउँमा चिन्ह लाग्ने कुरा पत्ता लगाएको दाबी गरेका छन्।

    आधा शताब्दीअघि बरफ जमेको ठाउँहरू वा चिन्ह भएका ठाँउमा धेरै परिवर्तन भएको पाइएको छ । सन् २००० देखि बरफ पग्लिने गति बढेर एक तिहाइ भन्दा बढी आकार घटेको पाइएको बीबीसीले जनाएको छ । यो अनुसन्धान नेचर नामको जर्नलमा प्रकाशित भएको छ ।

    अध्ययनले महाद्वीपबाट बरफ कम हुदै जानुले भविष्यमा विश्वभरको समुद्री सतह बढ्नमा सघाउ पुग्ने कुरामा जोड दिएको छ । यो अध्ययन अन्टार्कटिकाको तटवर्ती क्षेत्रको ७५ प्रतिशतमा रहेको बरफको ढिक्काको आकारमा केन्द्रित रहेको थियो ।

    बरफका ती ढिक्का हिमनदीमा तैरिन पर्नेमा अहिले वरपरका महासागरमा धकेलिएका छन् । एडिनबर्ग युनिभर्सिटीको टोलीले गरेको अध्ययनले जलवायु परिवर्तनको असरले गर्दा अन्टार्कटिका महाद्वीपको पश्चिमबाट तातो पानी पस्न थालेको हुँदा बरफका ढिक्का पातलो हुँदै गएको निस्कर्ष निकालेको छ ।

     

  • प्याराग्लाइडिङ र जिपलाइनको जिम्मा स्थानीय तहलाई दिने प्रस्ताव

    प्याराग्लाइडिङ र जिपलाइनको जिम्मा स्थानीय तहलाई दिने प्रस्ताव

    काठमाडौं । फागुन ४, सरकारले प्याराग्लाइडिङ र जिपलाइनसम्बद्ध सेवाको नियमन स्थानीय तहलाई नै दिन प्रस्ताव गरेको छ ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ संशोधनका लागि तयार भएको विधेयकको मस्यौदामा प्याराग्लाइडिङ र जिपलाइनको नियमन र व्यवस्थापन स्थानीय तहलाई तोक्न प्रस्ताव भएको छ ।

    विधेयकमा संघीय सरकारले निर्धारण गरेको मागदण्ड अनुसार मात्रै आफ्ना क्षेत्रभित्र स्थानीय तहले पर्यटकीय र सांस्कृतिक क्षेत्र घोषणा गर्न पाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ । हाल ऐनमा स्थानीय सरकारले चाहेमा मापदण्डविना नै यस्तो घोषणा गर्न सक्ने व्यवस्था छ ।

    ऐनमा स्थानीय तहले अब संघ र प्रदशे सरकारको कानुन विपरीत नहुने गरी सहकारी संस्थासम्बन्धी नीति, कानुन मापदण्ड निर्माण, कार्यान्वयन र नियमन गर्न सक्ने उल्लेख छ ।

     

  • चीनको नयाँ वर्षका अवसरमा नेपालमा पनि रौनक

    चीनको नयाँ वर्षका अवसरमा नेपालमा पनि रौनक

    काठमाडौँ । माघ २८, चिनियाँ नयाँ वर्षको रौनक नेपालमा पनि देखिएको छ । छिमेकी देश चीनको नयाँ वर्षका अवसरमा काठमाण्डौमा पनि विभिन्न कार्यक्रम भैरहेका छन् ।

    चीनमा साँस्कृतिक रीतिरिवाज लुनार पात्रो अनुसार निर्धारण गरिन्छ । अनि पात्रो अनुसार नयाँ वर्ष प्रायः जनवरी वा फेब्रुअरीमा पर्छ ।

    हिजो फेब्रुअरी १० तारिखमा चिनियाँ ड्रयागन वर्ष सुरु भयो । बाह्र वर्षको एउटा चक्र हुन्छ । हरेक वर्षलाई एउटा जनावरले प्रतिनिधित्व गर्छ । अर्थात् बाह्र वर्षको चक्रमा मुसा, गोरु, बाघ, खरायो, ड्रयागन, सर्प, घोडा, बाख्रा, बाँदर, भाले, कुकुर र सुँगुर छन् । यो वर्ष ड्रयागन वर्ष हो ।

     

    नयाँ वर्षमा नयाँ कपडा लगाउने, त्यसमा पनि प्रायः रातो रङ्ग रोजाइमा पर्छ । आफ्नो नयाँ वर्ष मनाउन चिनियाँहरु कर्मथलोबाट आफ्नो घर जाने गर्छन् । जतिसुकै टाढा भए पनि चिनियाँहरु कम्तीमा वर्षमा एक पटक मुख्यगरी नयाँ वर्षमा आफ्नो परिवारसँग भेट्ने कोसिस गर्छन् ।

    नयाँ वर्षको बिदामा चिनियाँहरू घुम्ने र रमाउने गर्छन् । चीनको लुशान विश्वविद्यालयमा अध्यापन गराउँदै आएका प्रमोद काफ्ले चीनको नयाँ वर्षलाई नेपालको मुख्य चाड दशैँसँग तुलना गर्नुहुन्छ । नयाँ वर्ष उत्सवको अन्तिम दिनलाई लालटिन डे भनिन्छ ।

    यो हप्ता काठमाण्डौका विभिन्न ठाउँमा कार्यक्रम भएका छन् । हिजो दशरथ रङ्गशालामा दुई देशका फुटबल खेलाडीबिच मैत्रीपूर्ण खेल भयो । यो खेल नेपालले ५–१ गोलले जित्यो । रङ्गशालामा नृत्य तथा कलाकौशल पनि प्रस्तुत गरिएको थियो ।

    भूगोल, जनसङ्ख्या, अर्थतन्त्र र उपभोक्ता बजारमा चीन अब्बल नै छ । उसका हरेक गतिविधिले विश्वमा प्रभाव राख्छन् । त्यसैले पनि चिनियाँ नयाँ वर्ष र यससँग जोडिएको संस्कृतिले यतिबेला नेपालसहित विश्वका विभिन्न देशका मानिसको ध्यान तानेको मानिन्छ ।

    चीनमा मात्रै नभइ नेपाल, थाइल्याण्ड, भियतनाम, कोरिया, इण्डोनेसिया, मलेसियालगायत अरु देशमा पनि चिनियाँ नयाँ वर्ष मनाउने गर्छन् । नेपालमा नयाँ वर्षका रुपमा विक्रम सम्वत्, नेपाल सम्वत्, अंग्रेजी नयाँ वर्षलगायत मनाउने गरिन्छ ।

    विगतमा चिनियाँ नयाँ वर्षलाई सामान्यरुपमा कार्यक्रम गरी मनाउने गरिन्थ्यो । तर यसपाली चिनियाँ नयाँ वर्षको अवसरमा वृहत् र भव्य कार्यक्रम भएका छन् ।

     

  • काठमाण्डौमा १ हजार २६ वटा स्मार्ट सडक बत्ती जडान

    काठमाण्डौमा १ हजार २६ वटा स्मार्ट सडक बत्ती जडान

    काठमाडौं । माघ २२, काठमाण्डौ महानगरपालिकाले १ हजार २६ वटा स्मार्ट सडक बत्ती जडान गरेको छ ।

    महाराजगञ्ज–लैनचौर–जमल खण्डमा ३ सय १८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल हुँदै माइतीघर मण्डलासम्म ३ सय ६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १ सय ८१ वटा, त्रिपुरेश्वर–थापाथली–माइतीघर मण्डलासम्म ७६ वटा, चावहिल–बौद्ध सडक खण्डमा ९९ वटा बत्ती जडान गरिएका हुन् ।

    यी खण्डको प्रारम्भिक अध्ययनमा क्रमशः ३ सय ४०, ३ सय ७४, १ सय ९०, ७६ र ९२ वटा बत्ती जडान गर्नुपर्ने देखिएको थियो ।

    महानगरपालिकाका इलेक्ट्रिकल इन्जिनियर पदमराज पौडेलका अनुसार फराकिलो सडकमा १ सय २० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान भएका छन् ।

    यी बत्ती राख्नका लागि पुराना र नयाँ गरी १ सय ७७ वटा पोल प्रयोग भएका छन् । बिजुली जडान गर्न ३० हजार ७ सय १० मिटर तारको प्रयोग भएको छ ।

    स्मार्ट बत्ती जडान गर्न वा पोललाई पुनः प्रयोगमा ल्याउन नसकिने ४ सय २१ वटा सोलार प्यानल हटाइएको छ । यी पोलहरू महानगरपालिका, विद्युत् प्राधिकरण र निजी क्षेत्रले गाडेका थिए ।

    रातको समयमा गाडी तथा मानवीय आउजाउ, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक सडक बत्ती जडान गरिएको महानगरले जनाएको छ । यसका लागि नेपाल विद्युत् प्राधिकरण र सडक विभागसँग सहकार्य भएको छ ।

    ११ करोड ९९ लाख ७४ हजार ९ सय २५ रुपैयाँ लागत अनुमानको ६० प्रतिशत रकम काठमाण्डौ महानगरले र ४० प्रतिशत रकम प्राधिकरणले बेहोर्ने सम्झौतामा उल्लेख छ ।

    यसैबीच प्राधिकरणको लगानीमा सिनामङ्गल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलङ्कीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछन् ।

    यस खण्डमा १ हजार १७ वटा सडक बत्ती राख्नुपर्ने प्रारम्भिक अध्ययनमा देखिएको छ । यस्तै ९२ वटा नयाँ पोल राख्नुपर्ने, २१ हजार ९ सय ७० मिटर तार आवश्यक पर्ने अनुमान छ ।

    प्राधिकरणले बत्ती जडान गरिसकेपछि सञ्चालन व्यवस्थापनका लागि महानगरलाई हस्तान्तरण गर्नेछ । यसपछिको मर्मत महानगरपालिकाले गर्नेछ । सडक बत्ती प्रयोग भएबापतको शुल्क महानगरले प्राधिकरणलाई बुझाउनेछ ।