Category: बाँकी न्युज

  • भोटेकोशी विपद्पछि पुन: स्थापना र पुनर्निर्माणका लागि जी-७ को सहयोग आवश्यक : परराष्ट्रमन्त्री

    भोटेकोशी विपद्पछि पुन: स्थापना र पुनर्निर्माणका लागि जी-७ को सहयोग आवश्यक : परराष्ट्रमन्त्री

    काठमाडौँ । असोज ८, परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालमा पुनः स्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन् ।

    संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा आयोजित जी—७ विकासमन्त्रीस्तरीय बैठकमा नेपालको पछिल्लो जलवायुजन्य विपद्को अवस्थाबारे सम्बोधन गर्दै उनले पुनः स्थापना, जलवायु वित्त, विपद् पूर्व तयारी, बहुपक्षीय वित्तीय सहयोग तथा हिमाली क्षेत्रका विषयमा जी—७ को सहयोग र सहकार्यका लागि आग्रह गरे ।

    बैठकमा नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री खनालले जलवायु विपद्को कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गर्ने जी—७ सदस्य राष्ट्र तथा अन्य मित्रराष्ट्रहरूप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट आभार व्यक्त गरे ।

    ‘नेपालले जलवायु परिवर्तन, दिगो विकास, उत्थानशीलता र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य अघि बढाउन जी–७ ले निर्वाह गर्दै आएको नेतृत्वको उच्च कदर गर्दछ,’ उनले भने । उनले बैठक आयोजना गरेकोमा जी—७ को अध्यक्ष फ्रान्सलाई समेत धन्यवाद व्यक्त गरे ।

    उनले हालैको जलवायुजन्य विपद्ले नेपालमा पु¥याएको मानवीय तथा भौतिक क्षति अत्यन्त ठुलो रहेको बताए । मन्त्री खनालले बाढीका कारण घर, सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था तथा जलविद्युत् पूर्वाधारमा क्षति पुग्नुका साथै जनजीवन र अत्यावश्यक सेवासमेत प्रभावित भएको बताए ।

    प्रारम्भिक आकलनअनुसार पुनः स्थापना तथा पुनर्निर्माणका लागि ५ अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने उनले जानकारी दिए । विपद्को वैज्ञानिक अध्ययन अझै जारी रहेको उल्लेख गर्दै उनले तीव्र रूपमा तातिँदै गएको हिमाली वातावरणमा बरफ, चट्टान, पानी र अस्थिर भू—बनोटबीचको जटिल अन्तरक्रियाका कारण विपद् उत्पन्न भएको प्रारम्भिक अध्ययनले देखाएको बताए ।

    सरकारले जलवायु परिवर्तनसहित भौगर्भिक, हिमनदीजन्य तथा जल विज्ञानसम्बन्धी कारणको अध्ययन गर्न विशेषज्ञ समिति गठन गरेको उनले जानकारी दिए ।

    पुनः स्थापना तथा पुनर्निर्माणका लागि नेपालका पाँच प्रमुख अपेक्षा प्रस्तुत गर्दै मन्त्री खनालले पहिलो प्राथमिकताका रूपमा पुनः स्थापनाका लागि साझेदारी आवश्यक रहेको बताए । मानवीय सहायतामा मित्रराष्ट्रहरूबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै उनले दीर्घकालीन पुनः स्थापना र पुनर्निर्माणका लागि अनुदान तथा सहुलियतपूर्ण वित्तीय स्रोतसहित समन्वित अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको बताए ।

    दोस्रो प्राथमिकताका रूपमा जलवायु वित्तमा पहुँच सहज बनाउन आग्रह गर्दै मन्त्री खनालले अनुकूलन तथा हानि–नोक्सानीसम्बन्धी वित्त विकासशील तथा जलवायु जोखिममा रहेका मुलुकका लागि छिटो, सरल र सहज रूपमा उपलब्ध हुनुपर्ने धारणा व्यक्त गरे । नेपालले हानि तथा क्षति कोषसम्बन्धी वित्तीय व्यवस्थाका लागि अनुरोध गरिसकेको र सकारात्मक प्रतिक्रियाको प्रतीक्षामा रहेको उनले जानकारी दिए ।

  • वर्षा र विपद्को जोखिम बढेपछि विराटनगर र पोखराका विद्यालय दुई दिन बन्द

    वर्षा र विपद्को जोखिम बढेपछि विराटनगर र पोखराका विद्यालय दुई दिन बन्द

    काठमाडौँ । असोज ८, देशभर भारी वर्षाको सम्भावनासँगै निम्तिन सक्ने प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै विराटनगर र पोखरा महानगरपालिकाले आ–आफ्ना क्षेत्रभित्रका विद्यालयहरूमा दुई दिन बिदा दिने निर्णय गरेका छन्। सम्भावित बाढी, पहिरो र डुबानबाट बालबालिकालाई सुरक्षित राख्न पूर्वसावधानीस्वरूप दुवै महानगरले असोज ८ र ९ गते (आज र भोलि) पठनपाठन बन्द गरेका हुन्।

    विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अनुसार जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको प्रक्षेपण गरेकाले विद्यालय बन्द गर्ने निर्णय लिइएको हो। वर्षाका कारण नदीनालामा पानीको सतह बढ्ने, बस्ती र सडक डुबानमा पर्ने तथा आवागमन अवरुद्ध हुने जोखिम रहेकाले विद्यार्थी र सर्वसाधारणको सुरक्षालाई प्राथमिकता दिइएको महानगरले स्पष्ट पारेको छ। यसका साथै बाढी वा डुबानको विपद् आइपरेमा सुरक्षित विद्यालय भवनहरूलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न पनि विराटनगर महानगरले विद्यालय प्रशासनहरूलाई आग्रह गरेको छ।

    उता पोखरा महानगरपालिकाले पनि मौसममा आएको अचानक फेरबदल र सम्भावित विपद्लाई ध्यानमा राख्दै नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको छ। पोखराका मेयर धनराज आचार्यले बाढी, पहिरो र अतिवृष्टिको उच्च जोखिम रहेकाले विद्यालय बन्द गरिएको जानकारी दिएका छन्। उनका अनुसार अहिले दिइएको यो दुई दिनको बिदालाई पछि आउने अन्य सार्वजनिक बिदासँग समायोजन गरिनेछ। मेयर आचार्यले नगरवासी, शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन अपिलसमेत गरेका छन्।

    मौसम पूर्वानुमान महाशाखाले विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशलगायत देशभरका विभिन्न भू-भागमा भारी वर्षाको सम्भावना औंल्याएको छ। नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

  • पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी नै सञ्चालनमा

    पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी नै सञ्चालनमा

    काठमाडौँ । असोज ८, पहिरो पन्छाएसँगै अवरुद्ध बनेको पृथ्वी राजमार्ग दुईतर्फी रूपमै सञ्चालनमा आएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका अन्तर्गत कृष्णभिर र ज्यामिरेमा खसेको लेदोसहितको पहिरो हटाएपछि राजमार्ग पूर्ण रूपमा खुलेको हो।

    धादिङ प्रहरीका अनुसार लगातारको वर्षाका कारण बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर नजिकै र वडा नम्बर ९ को ज्यामिरे खण्डमा पहिरो खसेको थियो। लेदो र ढुंगा-माटोसहितको पहिरोका कारण शुक्रबार बिहानदेखि राजमार्ग एकतर्फी मात्र सञ्चालनमा रहेको थियो। सडक विभाग र सुरक्षाकर्मीको टोलीले पहिरो पन्छाएपछि रोकिएका सवारीसाधनहरू दुवैतर्फ सुचारु भएका छन्।

    यसअघि गत भदौ १० र १४ गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीले कृष्णभिर खण्डको सडक कटान गर्दा पृथ्वी राजमार्ग लगातार १८ दिनसम्म ठप्प बनेको थियो। बाढीले बगाएको ठाउँमा नयाँ ट्र्याक निर्माण गरेर गत असोज १ गतेदेखि मात्रै राजमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो।

  • कार्यविभाजन र कमिटीहरू टुंग्याउन एमाले सचिवालय बैठक बस्दै

    कार्यविभाजन र कमिटीहरू टुंग्याउन एमाले सचिवालय बैठक बस्दै

    काठमाडौँ । असोज ८, नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको तेस्रो बैठककै बीच पार्टीले सचिवालयको बैठक बोलाएको छ। नेताहरूको कार्यविभाजन टुंग्याउने तथा संगठनात्मक संरचनालाई पूर्णता दिने उद्देश्यका साथ सचिवालय बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो।

    सचिवालय बैठक सकिएलगत्तै दिउँसो १२ : ३० बजेदेखि केन्द्रीय कमिटीको बैठक पुनः सुरु हुने कार्यतालिका छ। पार्टी प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार नेताहरूको कार्यविभाजन सम्बन्धी प्रस्ताव पहिले सचिवालयबाट पारित गरेर त्यसलाई अनुमोदनका लागि केन्द्रीय कमिटीमा पेस गर्ने तयारी गरिएको छ।

    एमालेको ११ औं महाधिवेशन सम्पन्न भएयता केन्द्रीय कमिटी सदस्यहरूको ठोस कार्यविभाजन हुन सकेको थिएन। आज बस्ने सचिवालय बैठकले स्थायी कमिटी र पोलिट्ब्यूरो सदस्यहरूको टुंगो लगाउने मुख्य कार्यसूची तय गरेको छ।

    यसका साथै लामो समयदेखि रिक्त रहेका पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने तथा भौगोलिक एवं गैरभौगोलिक कमिटीहरूमा सहइञ्चार्जहरू तोक्ने विषयमा पनि बैठकमा निर्णय हुनेछ। बैठकमा हालै सम्पन्न निर्वाचन समीक्षा प्रतिवेदनबाट प्राप्त सुझावहरूका आधारमा केही पार्टी कमिटी तथा जनसंगठनहरूको पुनर्गठन र व्यवस्थापनबारे समेत आवश्यक छलफल हुने बताइएको छ।

  • एक हजारको नयाँ नोट आजदेखि बजारमा : यस्तो छ नयाँ स्वरूप

    एक हजारको नयाँ नोट आजदेखि बजारमा : यस्तो छ नयाँ स्वरूप

    काठमाडौँ । असोज ८, नेपाल राष्ट्र बैंकले बिहीबार (असोज ८) देखि एक हजार रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ। साविककै आकार कायम राखी रङ र सुरक्षा विशेषतामा आवश्यक परिमार्जन गरेर ‘सिरिज २०२५’ अन्तर्गतको नयाँ नोट निष्कासन गरिएको केन्द्रीय बैंकले जनाएको छ।

    नयाँ नोटको रङ बैजनी घेराभित्र फिक्का हरियो बनाइएको छ। यसमा नोटको संकेत नम्बर ‘ट/५२ ०००००१’ देखि ‘त/५० ९९९९९९’ सम्म रहनेछ। नोटको अगाडिपट्टिको मध्य भागमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत छ भने तल्लो भागमा सिरिज नम्बर वि.सं. २०८२ अंकित गरिएको छ।

    यसअघि केन्द्रीय बैंकले २०७७ साउन ३ देखि चलनचल्तीमा ल्याएको ‘सिरिज २०१९’ को एक हजार दरको बैंकनोट संकेत नम्बर ‘ज/६८ ०००००१’ देखि ‘ट/५१ ४४००००’ सम्म मात्र जारी गरेको थियो। त्यसपछिको क्रमसंख्या ‘ट/५२ ०००००१’ बाट नयाँ सिरिज २०२५ को नोट निष्कासन सुरु गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

    अगाडिको भाग र उच्च सुरक्षा प्रविधि
    नोटको अगाडिपट्टि “श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रूपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइने छ” भन्ने व्यहोरा साविकझैँ राखिएको छ।

    यसको बायाँतर्फ सर्वोच्च शिखर सगरमाथाको चित्र र दायाँतर्फ राष्ट्रिय फूल लालीगुराँसको पानीछाप (वाटरमार्क) रहेको छ, जसमुनि ‘1000’ अंकको पानीछाप पनि स्पष्ट देखिन्छ। प्रकाशतर्फ फर्काएर हेर्दा नोटको दायाँतर्फ रहेको नीलो रङको आंशिक भाग मिलेर पूर्ण ‘1000’ देखिने (सी-थ्रु) प्रविधि प्रयोग गरिएको छ।

    सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र समावेश छ। त्यसैगरी नोटमा ३.५ मिलिमिटर चौडाइ भएको चलायमान सुरक्षा धागो (विन्डो सेक्युरिटी थ्रेड) राखिएको छ। सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिने यो धागोमा ‘NRB’ र ‘1000’ अंकित गरिएको छ।

    दृष्टिविहीनमैत्री फिचर र सांस्कृतिक पहिचान
    दृष्टिविहीन व्यक्तिहरूले छामेरै नोट पहिचान गर्न सकुन् भन्ने उद्देश्यले नोटको दायाँतर्फको तल्लो भागमा रोमन अक्षर ‘M’ राखिएको छ। साथै सगरमाथा हिमालको बायाँ र पानीछापको दायाँतर्फ १०/१० वटा उठेका तेर्सा रेखाहरू (ब्लाइन्ड रिकग्निसन लाइन्स) दिइएको छ।

    नोटको पृष्ठ भागको मध्य खण्डमा चितवनस्थित सरकारी हात्तीसारमा नेपाल सरकारको स्वामित्वमा रहेको ‘देवकली’ नामक हात्तीबाट जन्मेका दुर्लभ जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’को चित्र अंकित गरिएको छ, जसको माथिल्लो भागमा अंग्रेजीमा ‘NEPAL RASTRA BANK’ लेखिएको छ।

    पृष्ठ भागमा नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सातवटा लालीगुराँसको चित्र प्रयोग गरिएको छ। दायाँतर्फ ‘RUPEES ONE THOUSAND’ का साथै ऐतिहासिक हनुमान ढोकास्थित लोंचोछेनमा रहेको परम्परागत काष्ठकलायुक्त थामको आकृति समेटिएको छ। बायाँतर्फ नीलो रङको 1000 को अंश र तल्लो बोर्डरमा सिरिज नम्बर ‘2025 A.D.’ अंकित गरिएको छ।

  • पाल्पा र कपिलवस्तुमा भारी वर्षा, आज झन् बढ्ने सम्भावना

    पाल्पा र कपिलवस्तुमा भारी वर्षा, आज झन् बढ्ने सम्भावना

    काठमाडौँ । असोज ८, बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ। मौसमविदहरूका अनुसार आजदेखि पानी पर्ने क्षेत्र र यसको मात्रा झन् बढ्दै जाने देखिएको छ।

    नेपाल मौसम विज्ञान विभागको तथ्यांक अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशका पाल्पा र कपिलवस्तु जिल्लामा रेकर्ड भएको छ। विभागको मापन अनुसार पाल्पाको बल्ड्याङगढी केन्द्रमा १२८.६ मिलिमिटर वर्षा भएको छ। यस्तै कपिलवस्तुको भगवानपुरमा १२२ मिलिमिटर र शिवराज नगरपालिकास्थित मैनार वर्षामापन केन्द्रमा ११७ मिलिमिटर वर्षा मापन गरिएको छ। यसबाहेक गण्डकी प्रदेशका तनहुँ, कास्की, स्याङ्जा तथा आसपासका क्षेत्रहरूमा पनि वर्षा भइरहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणालीका कारण देशभर वर्षाको सम्भावना रहे पनि यसको मुख्य प्रभाव लुम्बिनी र गण्डकी प्रदेशका जिल्लाहरूमा बढी देखिनेछ। यद्यपि पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्मै मौसमी प्रतिकूलता देखिने भएकाले सबै क्षेत्रमा सतर्कता आवश्यक रहेको मौसमविदहरूले बताएका छन्।

    महाशाखाका अनुसार आजदेखि वर्षाको क्रम थप तीव्र बन्नेछ भने केही स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरिएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्नेछ। यसैगरी कोशी र बागमती प्रदेशका पहाडी भेगका एक-दुई ठाउँमा पनि भारी वर्षाको आकलन गरिएको छ। वर्षासँगै मधेश र कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा हावाहुरी चल्ने सम्भावना छ।

    यो मौसमी प्रणालीका कारण आउँदो आइतबारसम्म देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने प्रक्षेपण गरिएको छ। जसका कारण जोखिमयुक्त क्षेत्रहरूमा पहिरो जानसक्ने र खोला तथा नदीहरूमा बाढी आउने जोखिम उच्च रहेको छ। बाढी-पहिरोका कारण सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सम्भावित विपद् र क्षतिबाट बच्न आवश्यक पूर्वसावधानी अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।