Category: बाँकी न्युज

  • शनिबारसम्म भारी वर्षा र हावाहुरीको जोखिम, गण्डकी र लुम्बिनीमा ‘अति भारी’ वर्षाको सम्भावना

    शनिबारसम्म भारी वर्षा र हावाहुरीको जोखिम, गण्डकी र लुम्बिनीमा ‘अति भारी’ वर्षाको सम्भावना

    काठमाडौँ । असोज ८, मनसुनी प्रणालीसँगै पश्चिमी वायु र बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको संयुक्त प्रभावका कारण आउँदो शनिबारसम्म देशका अधिकांश भू-भागमा मौसम प्रतिकूल बन्ने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन देशका विभिन्न भेगमा भारीदेखि अति भारी वर्षा र तराईका जिल्लाहरूमा हावाहुरी चल्ने सम्भावना छ।

    बंगालको खाडीमा बनेको गहिरो न्यून चापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरको बीचबाट उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशाको तटीय क्षेत्र पार गरिसकेको छ। सुरुवाती अवस्थामा यसले आफ्नो तीव्रता कायम राख्दै उत्तर-पश्चिमतर्फ अघि बढ्ने र आगामी २४ घण्टाभित्र उत्तर-उत्तरपश्चिम सर्दै क्रमशः कमजोर बन्दै जाने महाशाखाले जनाएको छ। हाल यसैको प्रभावका कारण कोसी, मधेस र वाग्मतीका धेरैजसो ठाउँ, गण्डकी र लुम्बिनीका केही भू-भाग तथा कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    महाशाखाले जारी गरेको पछिल्लो मौसमी बुलेटिन अनुसार बिहीबार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने देखिन्छ। आजै दिउँसो मधेस र कोसीका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ। यस्तै, बिहीबार राति यी चार प्रदेशका साथै मधेस प्रदेशका समेत एक-दुई ठाउँमा धेरै भारी वर्षा हुनसक्नेछ भने मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका तराई भू-भागमा तीव्र हावाहुरी चल्ने आकलन गरिएको छ।

    शुक्रबारदेखि भने वर्षाको तीव्रता अझ बढ्ने महाशाखाको प्रक्षेपण छ। शुक्रबार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। विशेषगरी गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भने ‘अति भारी’ वर्षाको चेतावनी दिइएको छ। यो क्रम शुक्रबार राति पनि जारी रहनेछ। रातिको समयमा देशभरका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुँदा गण्डकी र लुम्बिनीमा पुनः अति भारी वर्षा दोहोरिन सक्नेछ। शुक्रबार दिन र रात दुवै समय मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कोसीका तराई भेगमा हावाहुरीको प्रभाव देखिनेछ।

    शनिबार भने मनसुनी वर्षाको मुख्य प्रभाव मुलुकको पश्चिमी क्षेत्रतर्फ सर्ने महाशाखाले जनाएको छ। शनिबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहँदा लुम्बिनी र गण्डकीका केही ठाउँमा अति भारी वर्षा हुनसक्नेछ।

    यस्तै शनिबार राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुनेछ भने लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा अति भारी वर्षाको जोखिम छ। शनिबार पनि तराईका मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका भू-भागमा हावाहुरी चल्ने पूर्वानुमान महाशाखाको छ।

  • परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

    काठमाडौँ । असोज ७, परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, हालै भोटेकोशीमा गएको बाढीपश्चात् राहत तथा पुनर्निर्माणका कार्यहरूलगायतका विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

    उक्त अवसरमा मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच पुनर्निर्माणका प्रयासहरूमा अमेरिकाको निरन्तर सहयोगको विषयमा समेत कुराकानी भएको थियो । भेटको अवसरमा परराष्ट्रसचिव अमृतबहादुर राई र स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

  • सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै गाडी गुडाउने तयारी

    सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै गाडी गुडाउने तयारी

    काठमाडौँ । असोज ७, निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङमार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पु¥याउने गरी कामलाई अगाडि बढाएको हो ।

    सुरुङभित्रको सडक निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएकाले आगामी मङ्सिरभित्रै सवारी सञ्चालनको तयारी गरिएको आयोजना प्रमुख प्रमुख नवराज बास्तोलाले बताए । उनले भने, “बर्खा र भोटेकाशी बाढीका कारण निर्माण सामग्री आउन ढिलाइ भएकाले एक महिनापछि धकेलिएको छ । अब एकदुई दिनमै निर्माण सामग्री आएपछि टनेल भित्रको काम अगाडि बढाउँछौँ । उनले मङ्सिर १५ गतेभित्र सवारी सञ्चालन गर्छौं ।”

    भोटेकोशी बाढीले सुरुङमार्गका लागि ल्याइएको विद्युतीय सामग्री बगाएपछि सवारी सञ्चालन गर्ने पूर्वनिर्धारित योजना केही समय प्रभावित हुन पुगेको बाँस्तोलाले बताए । हाल सुरुङभित्र सडकको पिच सकेर रङरोगन चलिरहेको छ । टेक्निकल भवनको फिनिसिङ पनि भइरहेको छ । लाइनिङ अर्थात् भुइँ भित्ता ढलानसहित सिभिल संरचनाको काम यसअघि नै सम्पन्न भएको छ । इलेक्ट्रोमेकानिकलसम्बन्धी काम बाँकी रहेको प्रमुख बास्तोलाको भनाइ छ ।

    सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६९ दशमलव ७० प्रतिशत र वित्तीय प्रगति ६३ दशमलव ५५ प्रतिशत रहेको योजना कार्यालयका सूचना अधिकारी एवम् इन्जिनियर सौम्य आनन्दले बताए । हालसम्म मुख्य सुरुङसहित बाइवास सुरुङ खन्ने, लाइनिङ, १४ वटा कल्भट, टनेल भित्रको प्रिमेन्टको काम सकिएको आनन्दले बताए । तीनवटा बाइपास निर्माण गरिएको छ । सुरुङको भित्री काम सकिएपछि बाहिरी सडक क्षेत्रलाई सुरक्षित बनाउने काम थालिने इन्जिनियर आनन्दले बताए । सुरुङको बाहिरी भागलाई पहिरोबाट जोगाउन रकसेड, रकफल व्यारियर र स्लोप प्रोटेक्सनका काम गरिने उनको भनाइ छ ।

    एक हजार १२६ मिटर लामो सुरुङमार्ग २०७८ फागुनमा ठेक्का सम्झौता भई २०७९ सालदेखि निर्माण सुरु भएको हो । आयोजनाको निर्माण चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले गरिरको छ । सो कम्पनीले सात अर्ब ३४ करोड २१ लाख ४० हजारमा ठेक्का लिएको हो ।

    सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्रअन्तर्गत पर्छ । सुक्खायाममा सुक्खा पहिरो खस्ने भएकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो । सरकारको आफ्नै स्रोतमा निर्माणाधीन यो सुरुङमार्ग सञ्चालनमा आएपछि सिद्धबाबा क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने समस्याबाट यात्रुले मुक्ति पाउने छन् । लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठानसहित गण्डकी प्रदेशको स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दीका नागरिक यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

  • आज प्रतिनिधिसभाको बैठक बस्दै, पाँच समितिका पनि बैठक

    आज प्रतिनिधिसभाको बैठक बस्दै, पाँच समितिका पनि बैठक

    काठमाडौँ । असोज ७, सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने छन् ।

    बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ ’ प्रस्तुत गर्ने छन् । यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

    यस्तै, आज विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

  • न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    काठमाडौँ । असोज ७, परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच अमेरिकाको न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार दुवै नेताबीच शिष्टाचार भेटवार्ता भएको हो ।

    भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछिको कठिन परिस्थितिमा भारत सरकार र भारतीय जनताले दर्शाएको ऐक्यबद्धता एवं तत्काल उपलब्ध गराएको उद्धार तथा राहत सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

    भेटवार्तामा दुवै मन्त्रीहरूबीच नेपाल-भारत बहुआयामिक सम्बन्धका विविध पक्ष, द्विपक्षीय हितका विषय तथा सम्झौताहरूको प्रगतिबारे विचारविमर्श भएको थियो । सो क्रममा दुई देशबीच लामो समयदेखि कायम रहेको घनिष्ठ, बहुआयामिक र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै विकास सहकार्यका क्षेत्रहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विषयमा जोड दिइएको छ।

  • आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान सुरु

    आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान सुरु

    काठमाडौँ । असोज ७, पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ ।

    २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् ।

    अन्तरराष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ ।

    अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताए । ‘हामी आजको दिनको पर्खाइमा छौँ । विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन् । विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तरराष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौँ,’ उनले भने ।

    फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन् ।

    पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमानुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताए । ‘राजस्व सङ्कलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँचपास र निकासी–पैठारीको काम हामी गर्छौं । त्यसका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलाइसकिएको छ,’ उनले भने ।

    दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले १ सय २० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा गरिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए । ‘फ्लाई दुबईको विश्वका धेरै सहरमा आफ्नै उडान छ । यसबाहेक दुबई विश्वका धेरै सहरका लागि एयर ट्रान्जिट हब हो । यसबाट पोखराको अन्तरराष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन सकिन्छ,’ उनले भने ।

    नेपाली युवा रोजगारी तथा अध्ययनका लागि दुबई गइरहेकाले पनि पोखराबाट उडान सञ्चालन हुँदा सहज हुने उनको भनाइ छ । पोखराबाट अन्तरराष्ट्रिय उडान सञ्चालनका क्रममा आवश्यक शान्तिसुरक्षाको प्रबन्धबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।