Category: बाँकी न्युज

  • परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

    काठमाडौँ । असोज ६, संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको न्युयोर्क पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच शिष्टाचार भेटवार्ता भएको छ।

    भेटघाटका क्रममा नेपाल र भुटानबीचको सदियौँदेखिको सुमधुर द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा दुवै नेताहरूबीच विचार आदानप्रदान भएको छ। साथै, पर्वतीय मुलुकहरूले सामना गरिरहेको जलवायु परिवर्तनको जोखिम, बढ्दो प्राकृतिक विपद् र यसका गम्भीर असरहरूबारे विशेष छलफल भएको थियो।

    भेटमा दुवै पक्षले नेपाल र भुटान दुवै समान भौगोलिक भू-बनावट भएका हिमाली तथा पर्वतीय राष्ट्र भएकाले जलवायु परिवर्तनसम्बन्धी समस्याविरुद्ध अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्यलाई अझ मजबुत र प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिएका छन्।

  • प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    काठमाडौँ । असोज ६, सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    यस्तै, आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

    बिहान १० बजे बस्ने अर्थसमितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनुभएका संशोधनकर्ता सांसदहरुसँग छलफल हुनेछ । स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्नेछ । सो समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

    विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः१५ बजे बस्दैछ । सो समितिको बैठकमा नेपालमा स्वदेशी र वैदेशिक एवं निजी र सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनको असर र लगानीको वातावरणमा परेको प्रभाव, राष्ट्रिय तथा प्रादेशिकस्तरमा गरिने लगानी सम्मेलनको व्यवस्थापन, उपयुक्त लगानी वातावरण बनाउन आवश्यक नीतिगत एवं कानुनमा गर्नुपर्ने सुधारलगायतका विषयमा छलफल गरिँदैछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे बस्दैछ । बैठकमा ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा विज्ञसँग छलफल गरिँदैछ ।

  • आज र भोलि केही स्थानमा भारी वर्षा हुने

    आज र भोलि केही स्थानमा भारी वर्षा हुने

    काठमाडौँ । असोज ६, आज र भोलि दुई दिन देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार असोज ६ र ७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना बढी रहेको छ। आज असोज ६ गते दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    राति पनि कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

    यसैगरी, असोज ७ गते दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

    मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। असोज ७ गते दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    असोज ७ गते राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

    रातिको समयमा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। महाशाखाका अनुसार असोज ७ गते राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, लुम्बिनीको पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

     

  • २०८३ साल असोज ६ गते मंगलबारको राशिफल

    २०८३ साल असोज ६ गते मंगलबारको राशिफल

    काठमाडौँ । असोज ६, २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६ सेप्टेम्बर २२ तारिख। भाद्र शुक्ल पक्षको एकादशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।


    मेष: दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ । आफ्नो मूल्यांकन आफैं गर्न नसक्दा संकट आइपर्ने छ । बाहिरका साथीको साथ मिल्नेछ । दाजुभाइको साथ र सहयोग प्राप्त हुनेछ । परिवारमा सुख र शान्ति मिल्नेछ ।

    वृष: दिन राम्रो छ । सहकार्यमा सुरुवात गरेमा व्यापारमा लाभ हुनेछ । शिक्षा र स्वास्थ्यको लगानीमा फाइदा हुनेछ । विपक्षी शान्त छन् । काम सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    मिथुन: दिन सामान्य छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । परिवारका कारण राजनीतिमा भय हुनेछ । जग्गाको कारोबारमा आंशिक लाभ हुनेछ । विदेशमा मन आकर्षित हुनेछ ।

    कर्कट: दिन राम्रो छ । लगानीका क्षेत्र सबल छन् । गुम्न लागेको सम्पत्ति हात लाग्नेछ । बन्धु सँगको सहकार्यले फाइदा हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

    सिंह: दिन राम्रो छ । धन लक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ । विपक्षीले तपाईंको पक्षमा काम गर्नेछन् । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

    कन्या: दिन राम्रो छ । सम्पत्ति खर्च भए पनि मान सम्मान बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

    तुला: दिन सामान्य छ । बोलीका कारण आफन्त टाढा हुनेछन् । गुरुबाट असहयोग हुनेछ । शिक्षाको क्षेत्रमा घाटा हुनेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ मिल्नेछ ।

    वृश्चिक: दिन राम्रो छ । मिहिनेतको फल प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ । आम्दानी बढ्नेछ । व्यापारमा नाफा हुने योग छ । शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछन् ।

    धनु: दिन राम्रो छ । तपाईंको बोलीको प्रभावले काम सहजै बन्नेछ । राजनीतिक क्षेत्रमा सोचेको काम बन्नेछ । विपक्षीले प्रशंसा गर्नेछन्। परिवारको साथ र सहयोग मिल्नेछ ।

    मकर: काम बन्ने दिन छ । सोचेको कुरा पूरा हुँदा मनमा खुसी मिल्नेछ । पठनपाठनमा रुची बढ्नेछ । स्वास्थ्यमा भने सुधारका संकेत भेटिनेछन् । परिवारको साथ र सहयोग मिल्नेछ ।

    कुम्भ: दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । यात्रामा कठिनाइ आइपर्ने छ । राजनीतिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । औषधी नियमित बन्नेछ । राजनीतिक भयको जोखिम छ ।

    मीन: दिन राम्रो छ । सोचेको काम सहज बन्नेछ । आफ्नै कारणले साथी टाढिने भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ । शिक्षामा प्रगति हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

  • रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

    रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । असोज ५, नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरेर यो जानकारी दिएको हो ।

    सूचनामा उल्लेख भएअनुसार असोज ७ गते बिहानसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । चितवनमा भने मध्यम वर्षाको सम्भावना छ । गएराति चितवनको कालीखोला वर्षा मापन केन्द्रमा ४१.४ मिलिमिटर वर्षा मापन भएको थियो । रसुवा, नुवाकोट, धादिङ र गोरखालाई पहेँलो रंगले संकेत गरेर मौसमबारे अध्यावधिक रहन महाशाखाले भनेको छ ।

    गत भदौ १० गतेको भोटेकोशी बाढीपछि तहसनहस भएको सडक सन्जाल पुन:स्थापित गर्दै विपद व्यवस्थापनको काम चलिरहेकाले ती जिल्लामा रहेकाहरुलाई मौसम सम्बन्धी आधिकारिक सूचनामा ध्यान दिन भनिएको छ । वर्षाका कारण ती जिल्लाका नदी तथा खोलानालामा जलसतह बढ्न सक्ने तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको हो ।

    साथै बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण असोज ८ गतेदेखि १२ गतेसम्म देशभर वर्षाको गतिविधि बढ्न सक्ने भन्दै मौसमविद्हरूले पूर्वतयारी र सतर्कता अपनाउन आग्रह पनि गरेका छन्। यसबारे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आइतबार मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकमा समेत छलफल भएको थियो । सो बैठकले वर्षा गराउने प्रणालीको निरन्तर निगरानी गर्ने र सोहीअनुसार आवश्यक तयारीका लागि सम्बन्धित सबै निकायलाई सतर्क गराउने निर्णय गरेको छ ।

  • कांग्रेस वडा अधिवेशन आज पनि जारी रहने

    कांग्रेस वडा अधिवेशन आज पनि जारी रहने

    काठमाडौँ । असोज ५, नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार पनि जारी रहने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा अधिवेशन हुनेछन् ।

    कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत १ असोजदेखि वडा अधिवेशन सुरु भएको थियो । निर्वाचन समितिका अनुसार आइतबारसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भइसकेको छ ।

    रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाहेक सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ तथा परासी क्षेत्र नम्बर २ का बाँकी वडामा आज अधिवेशन हुनेछन् ।