१५ सञ्चारमाध्यमद्वारा आचारसंहिता उल्लंघन, आचारसंहिता पालना गर्न ध्यानाकर्षण : प्रेस काउन्सिल

सहयात्रा टिभी

काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लघंन गर्ने प्रदेश नंं २ का १५ सञ्चारमाध्यमलाई सचेत गराएको छ । स्थानीय तह चुनाव अन्तर्गत तेस्रो चरणमा प्रदेश नं २ मा आगामी असोज २ गते हुने चुनावसम्बन्धी सामग्री प्रकाशन-प्रसारण गर्दा २८ सामग्री आचारसंहिता प्रतिकूल देखिएको काउन्सिलले जनाएको छ । दुई छापामाध्यम, नौ रेडियो, एक टेलिभिजन र तीन अनलाइनले आचारसंहिता प्रतिकूल सामग्री प्रकाशन-प्रसारण गरेको अनुगमनका क्रममा फेला परेको काउन्सिलले जनाएको छ ।

काउन्सिलका अनुसार तोकिएको समय र साइजभन्दा बढीको सामग्री दुई छापामा प्रकाशन भएको र रेडियोले १२ वटा प्रसारण गरेको, तोकिएको साइजको विज्ञापन भए पनि शुल्क नखुलाइएको आठ सामग्री नौ रेडियोमार्फत प्रशारण भएको तथा एक अनलाइनमार्फत चार र एक टेलिजिभनबाट एक समाचार सामग्री आचारसंहिता प्रतिकूल प्रयोग भएको पाइएको छ ।

आचारसंहिता प्रतिकूल काम गर्ने सञ्चारमाध्यमलाई आचारसंहिता पालनामा ध्यानाकर्षण गराइएको काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिनुभयो ।– रासस

प्रकाशित : 14 September, 2017

प्रतिक्रिया दिनुहोस्