जनता आवासअन्तर्गत मोरङमा सातसय घर निर्माण सम्पन्न

सहयात्रा टिभी

विराटनगर । अतिविपन्न परिवारका लागि जनता आवास कार्यक्रमअन्तर्गत मोरङमा सातसय घरको निर्माण कार्य सम्पन्न भएको छ ।

नेपाल सरकारद्वारा गत आर्थिक वर्षमा आठसय घर निर्माण गर्नुपर्नेमा सातसयको निर्माणकार्य सम्पन्न भएको र एकसय घरको निर्माण कार्य अन्तिमचरणमा पुगेको सहरी विकास तथा भवन निर्माण विकास डिभिजन कार्यालय, विराटनगरले जनाएको छ ।

प्रत्येक घर निर्माणका लागि रु दुई लाख १४ हजार खर्च गरिएको सो कार्यालयका प्रमुख श्यामकिशोर सिंहले जानकारी गराउनुभयो ।

खासगरी विपन्न दलित र मुसलमानलाई जनता आवास कार्यक्रममा छनोट गरिएको छ । परिवारको सदस्य, जग्गाको अवस्था, व्यक्तिगत जग्गा, ऐलानी जग्गालगायत विभिन्न प्रकारका निर्धारण गरिएका मापदण्डअन्तर्गत परिवार छनोट गरिएको उहाँले बताउनुभयो ।

बुधनगर, विराटनगर, जहदा, मझारे, भौंराहा, कटहरि, डाइनिया, आमगाछी, बाहुनी, अमरदह, कोशीहरँैचा, टाँडीलगायतका गाउँका अतिविपन्न परिवारका लागि भवन निर्माण गरिएको बताइएको छ ।

सोहीअनुरुप सुनसरी जिल्लामा पनि आठसय घर निर्माण कार्य सम्पन्न भइसकेको कार्यालय प्रमुख सिंहले जानकारी गराउनुभयो ।

प्रकाशित : 17 October, 2017

प्रतिक्रिया दिनुहोस्