चुनावका लागि भरपूर सहयोग हुनेछ–प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव तोकिएको मितिमा सम्पन्न गर्न सरकारका तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा तोकिएको मितिमा चुनाव गर्न निर्वाचन आयोगलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको आयोगका सचिव नवराज ढकालले जानकारी दिनुभयो ।
आउँदो मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनाव स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सञ्चालन गर्न आयोगबाट भइरहेको तयारीप्रति सन्तोष व्यक्त गर्दै प्रधानमन्त्री देउवाले निर्धक्कसँग चुनावको काममा खट्न आयोग पदाधिकारीलाई सुझाव दिनुभयो । त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आउँदो मंसिर १० र २१ गते प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य चुनाव एकैपटक दुई चरणमा गर्ने गरी आयोगले कार्यतालिका मुताबिक काम गरिरहेको जानकारी दिनुभएको थियो ।
उहाँले चुनावी कार्यक्रमअनुसार गएको असोज २९ गते राजनीतिक दलका तर्फबाट व्यापक उत्साहका साथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचि पेश भएको अवसरमा प्रधानमन्त्री देउवालाई अवगत गराउनुभयो । भेटमा प्रधानमन्त्री र आयोगका पदाधिकारीबिच दीपावली तथा छठलगायतका पर्वहरूको उपलक्ष्यमा शुभकामना आदानप्रदानसमेत भएको थियो । त्यस अवसरमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, आयोगका निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी हुनुहुन्थ्यो । रासस