स्वास गन्हाउने समस्या छ ? यसो गर्नुस्

सहयात्रा टिभी

विज्ञानले विहान स्वास गनाउने समस्यालाई ‘ह्यालिटोसिस’ भन्छ । दाँत सफा नगर्ने बानीले गर्दा, सुत्ने तरिका नमिल्दा अनि केही खानेकुरा खाँदा विहान स्वास गनाउने गर्दछ । राति सुत्दा मुख सुक्खा भयो भने पनि स्वास गनाउने समस्या हुन्छ । स्वास गन्हाउने धेरै कारण हुन्छन् । तर, यसलाई हटाउने उपायहरु पनि छन् । मुख गन्हाउने समस्या भए यसो गर्नुस् –
सुत्नुभन्दा अगाडि दाँत माझ्ने –दाँतको सरसफाइमा उचित ध्यान दिनुभयो भने स्वास गनाउने समस्या समाधान त हुन्छ नै त्यसको साथसाथै विभिन्न दन्तरोगहरूबाट पनि बच्न सकिन्छ । बिहान उठेपछि तथा सुत्नुभन्दा अगाडि दाँत माझ्दा बिहानीपख स्वास गनाउने समस्या हुँदैन ।

जिब्रो सफा गर्नुहोस् –विहान उठ्दा स्वास गनाइराखेको छ भने तपाईंको जिब्रोमा बाक्लो सेतो लेऊ लागेको हुन सक्छ । यस्तो लेऊमा स्वासलाई दुर्गन्धित बनाउने ब्याक्टेरियाहरू जम्मा भएर बसेका हुन्छन् । त्यसैले दाँत माझेपछि नरम ब्रसले जिब्रोलाई हलुका सफा गर्ने बानी बसाल्नुहोस् ।

नुन पानीले मुख कुल्ला गर्नुहोस्–अल्कोहलको मात्रा भएको मुख कुल्ला गर्ने तरल पदार्थहरूले मुखलाई झन् बढी सुक्खा गराउँदछ । त्यसैले मुख कुल्ला गर्दा घरेलु उपाय अपनाउन पनि सकिन्छ । त्यसका लागि १ गिलास मनतातो पानीमा आधा चम्चा नुन राखेर घोल्नुहोस् र त्यस पानीले मुख कुल्ला गर्नुहोस् । त्यसो गरेमा स्वासलाई दुर्गन्धित बनाउने ब्याक्टेरियाहरू मर्दछ । औषधी पसलमा अल्कोहल नमिसाइएको माउथवासहरू पनि पाइन्छन्, त्यसको प्रयोग गर्न पनि सकिन्छ ।

सुत्ने बानीमा सुधार आवश्यक–राति सुत्दा घुर्नुभयो अथवा मुख खुल्ला गरेर सुत्नुभयो भने गह«ौं स्वास फेर्नुपर्ने हुन्छ, जसले गर्दा विहान स्वास गन्हाउन सक्छ । त्यसैले सुत्ने बानीमा सुधार ल्याउनु जरुरी हुन्छ । त्यसको लागि उत्तानो परेर सुत्नुभन्दा कोल्टे परेर सुत्नु उचित हुन्छ र सुत्दा मुखको सट्टा नाकले सास फेर्ने बानी बसाल्नुहोस् । सुत्नुअघि पानी पिउनुहोस् –राति सुत्दा शरीरमा पानीको कमी हुन गयो भने पनि मुख सुक्खा हुने गर्दछ, जसले विहानमा स्वास दुर्गन्धित हुन्छ । त्यसैले दिनमा पनि कम्तीमा ८ गिलास पानी पिउनुपर्ने हुन्छ र राति सुत्नुभन्दा अगाडि पनि १ गिलास पानी जरुर पिउनुहोस् ।

फलफूल तथा साजसब्जी खानुहोस् –ताजा र प्रशस्त पानी पाइने फलफूल, जस्तै गाँजर, काँक्रो, स्याउ, आदि दैनिक खानुभयो भने पनि स्वास गन्हाउने समस्यामा कमी हुन्छ । लसुन, प्याँज र पिरो नखानुहोस –सबैलाई थाहा भएकै कुरा हो कि, प्याँज खाएपछि कत्तिको सास गन्हाउँछ भनेर ! हुन त प्याँज खानु स्वास्थ्यको लागि राम्रै कुरा हो, तर नराम्रो सासबाट मुक्त हुन चाहनुहुन्छ भने यस्ता खानेकुराहरू नखाँदै उचित हुन्छ ।

गुलियो खानेकुरामा कमी गर्नुहोस् –धेरै गुलियो खानेकुराहरू खाएपछि मुखमा केहि कणहरू बाँकी हुन्छ, जुन पछि गएर दुर्गन्धको स्रोत बन्न जान्छ । त्यस्ता कणहरूमा ब्याक्टेरिया पनि छिट्टै नै आकर्षित हुने गर्दछ । ती ब्याक्टेरियाहरू एसिडमा परिणत हुन्छन् र दाँत कुहिने, दाँत खिइने तथा सास गनाउने जस्ता विभिन्न समस्याहरू देखा पर्दछ । चिकित्सकको सल्लाह लिनुहोस् –जुनसुकै उपायहरू अपनाउँदा पनि तपाईको सास गन्हाउन छोडेन भने त्यो सामान्य अवस्था पक्कै पनि होइन । त्यस्तो अवस्थामा तुरुन्त चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । कम्तीमा पनि वर्षको एकचोटी सबै जनाले दन्त चिकित्सकसँग आफ्नो दाँतको जाँच गराउनु आवश्यक हुन्छ । त्यसो गरेमा तपाईको दाँतमा तपाईले थाहा नपाउने गरी आउने समस्याको पनि तुरुन्तै पहिचान हुन्छ र अझ बढी समस्या आउनबाट बच्न सकिन्छ ।

प्रकाशित : 20 November, 2017

प्रतिक्रिया दिनुहोस्