प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले लिए नाम फिर्ता

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १६, जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् ।

उनले आफूले नाम फिर्ता लिनेबारे समितिलाई जानकारी गराएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।

‘उहाँले आफ्नो नाम फिर्ता लिनेबारे जानकारी हामीलाई गराउनुभएको छ । उहाँ सिंहदरबारमा नै हुनुहुन्छ । केहीबेरमा निवेदन पठाउनुहुन्छ,’ सभापति श्रेष्ठले भने ।

साथै, उनले आफू समितिमा नआउने र निवेदन भने पठाउने जानकारी थापाले गराएको बताए ।

सभापति श्रेष्ठका अनुसार, स्वार्थ बाझिने कुरासँग जोडिएर उठेको प्रश्नलाई ख्याल गरेर थापाले आफ्नो नाम फिर्ता लिन लागेको हो ।

‘कानुनी रुपमा समस्या थिएन । स्वार्थको द्वन्दको कुरा आएकोले यो देशको कुरा पनि भएकोले नाम फिर्ता लिन्छु भन्नुभयो,’ सभापति श्रेष्ठले भने ।

२०८३ असोज २८ गते प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको थियो । नियुक्तिका लागि सिफारिस १३ मध्ये १० राजदूतको नाम मात्र संसदीय सुनुवाइ समितिले सो दिन अनुमोदन गरेको थियो ।

साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम भने अनुमोदनका लागि अस्वीकृत गरिएको थियो ।

जापानका लागि प्रस्तावित राजदूत थापाको जापानको पीआर रहेको भन्दै सांसदहरुले प्रश्न उठाएपछि थप अध्ययन गर्ने भन्दै सुनुवाइ स्थगित गरिएको थियो ।

संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर संविधानको धारा २९१ को व्यवस्था र पीआर त्यागेको अवधिको विषयमा सांसदहरूले सुनुवाइकै क्रममा प्रश्न उठाएका थिए ।

प्रकाशित : 2 November, 2026

प्रतिक्रिया दिनुहोस्