डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि टिचिङमा भर्ना
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १६, चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

शरीरमा सुगर र अक्सिजनको मात्रा घट्नुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि इलामबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
इलाममा २५औँ आमरण अनशनमा रहेका केसीलाई सोमबार काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको हो । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार उनको स्वास्थ्य परीक्षण र उपचार सुरु गरिएको छ ।
रोस्याराका अनुसार केसीको शरीरमा सुगरको मात्रा घटेको छ । त्यस्तै, श्वासप्रश्वासमा समस्या देखिएको छ । पेट दुख्ने र पिसाबमा संक्रमणसमेत देखिएको छ । ‘उहाँको सुगरको मात्रा घटेको छ । श्वासप्रश्वासमा समस्या छ । पेट दुख्ने र पिसाबमा पनि संक्रमण देखिएको छ,’ रोस्याराले अनलाइनखबरसँग भने ।
अस्पतालमा भर्ना भएपछि उनको उपचार सुरु गरिएको छ । उनलाई शिक्षण अस्पतालको ५०१ नम्बर क्याबिनमा राखेर उपचार भइरहेको छ ।
अनशनको पाँचौं दिनदेखि नै केसीको स्वास्थ्यमा लगातार जटिलता देखिएको थियो । श्वासप्रश्वासमा कठिनाइ भएपछि आइतबार रातिदेखि नै उनलाई अक्सिजन दिएर उपचार सुरु गरिएको थियो ।
स्वास्थ्य अवस्था थप जोखिमपूर्ण बन्दै गएपछि उपचारमा संलग्न चिकित्सकहरूले सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सिफारिस गरेका थिए ।
यसैबीच, नेपाल चिकित्सक संघले डा। केसीको जीवनरक्षाका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेको छ । अनशनका कारण उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै संघले माग सम्बोधनका लागि अविलम्ब वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले संयुक्त विज्ञप्ति जारी गर्दै केसीको स्वास्थ्य अवस्था थप जटिल हुन नदिन आवश्यक उपचार र स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन माग गरेका छन् ।
संघका अनुसार शरीरमा सुगर र अक्सिजनको मात्रा कम हुनुका साथै स्वास्थ्य परीक्षणमा समेत कठिनाइ देखिएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधार, गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच तथा सुशासनका लागि लामो समयदेखि आवाज उठाउँदै आएका केसीको जीवनरक्षालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने संघको भनाइ छ ।
तर, डा. केसीको स्वास्थ्य अवस्था जटिल बनिसक्दा पनि सरकारले औपचारिक वार्ता सुरू गरेको छैन । पहिला डा. केसीको साथ दिँदै आएका मानिसहरू अहिले मन्त्री देखि सांसद छन् ।
पछिल्लो पटक उनी ६ महिनामा दुई पटक अनशन बसिसकेका छन् । उनीहरु सत्तामा पुगेपछि पनि माग सम्बोधन नभएको भन्दै आलोचना बढिरहेको छ ।
यता शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयले भने अनौपचारिक संवाद भइरहेको दाबी गरेको छ । ‘उहाँ अनशन बसेपछि हामी अनौपचारिक रुपमा संवाद भइरहेको छ,’ सचिवालयका एक सदस्यले भने, ‘छिट्टै नै वार्ता टोली गठन गरेर छलफलमा जान्छौं ।’
