काभ्रेपलाञ्चोकमा १० हजार घर पुनर्निर्माण
बनेपा । काभ्रेपलाञ्चोकमा अहिलेसम्म झण्डै १० हजार घर भूकम्पपीडितले पुनर्निर्माण गरेका छन् । भूकम्पका कारण जिल्लामा ७२ हजार ४१७ घरमा क्षति भएको थियो । पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैडाले अझै भूकम्पपीडितको दुई हजार निवेदन अध्ययनका क्रममा रहेको जानकारी दिए ।
पीडितले बनाइसकेका घर भूकम्प प्रतिरोधी छन् वा छैनन् त्यसको पनि अध्ययन भइरहेको उनले बताए । प्रमुख गैडाले काभ्रेपलाञ्चोकको भूकम्पपीडितका लागि आएको दुई अर्ब ५० करोडमध्ये चालु आवको भदौदेखि मंसिरसम्म चार महिनामा ७६ करोड ३० लाख खर्च भएको जानकारी दिंदै यो खर्च अझै बढ्दै जाने बताए । जिल्लाको मण्डनदेउपुर नगरपालिकाको चण्डेनीमण्डन, सापिङ, उग्रचण्डीनाला, बनेपाको रविओप, पनौतीको कुशादेवी, पनौतीकै बल्थली, पाँचखाल लगायतका क्षेत्रमा पुनर्निर्माण भएको बताइएको छ ।
पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका अनुसार ७२ हजार ४१७ लाभग्राहीमध्ये अनुदान सम्झौता भएका ६५ हजार ७७३ छन । त्यसमध्ये प्रथम किस्ता बापतको राहत रकम पाउने ६५ हजार ७७३, दोस्रो किस्ता बापतको राहत रकम पाउने नौ हजार ३१८ र तेस्रो किस्ता बापतको राहत रकम पाउने दुई हजार ९०५ रहेका छन् । प्रमुख गैडाले पानीको समस्या, काठको समस्या र दक्ष कामदारको अभावले पनि पुनर्निर्माण प्राभावित भएको बताए ।