काँग्रेसमा राष्ट्रियसभा सदस्य निर्वाचनको आन्तिरिक तयारी छलफल सुरु
काठमाडौँ । माघ–१ प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीको आन्तरिक गृहकार्य शुरु गरेको छ ।
पार्टीका शीर्ष नेताले आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्यलगायत विषयमा प्रारम्भिक छलफल गरेको पार्टी कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताबीच राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारेमा छलफल भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आगामी बैठकबाट प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी गर्नुभएको र पृष्ठभूमिमा आज सो छलफल भएको बताइएको छ ।
काँग्रेसले राष्ट्रियसभा निर्वाचनको तयारीसँगै केन्द्रीय समिति बैठक बोलाउने तयारीसमेत गरिहेको छ ।
छलफलमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत छलफलमा सहभागी थिए ।