प्रदेशसभा सदस्यको शपथ आईतवार विहान
काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथपछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी सुरु गरिएको छ । प्रदेशसभा सदस्यले आइतबार बिहान शपथ ग्रहण गर्नेछन् । निर्वाचन आयोगले शुक्रबार नै प्रदेश प्रमुखलाई प्रदेशसभा सदस्य चुनावको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझेलगत्तै प्रदेश प्रमुखहरू आआफ्ना प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथका लागि व्यवस्था गर्ने तयारीमा जुटेका हुन् ।
आयोगले आउँदो २४ गते हुने राष्ट्रियसभा सदस्यका लागि आइतबार नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । प्रदेशसभा पहिलो बैठक बसेको २० दिनभित्र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । बैठकले मुख्यमन्त्री र प्रदेश सरकार चयन गर्नेछ । सामान्य प्रशासन मन्त्रालयले प्रदेश प्रमुखको कार्यालयमा जति सक्दो चाँडो कर्मचारी पठाउने तयारी गरेको छ । एउटा प्रदेशमा सहसचिवको नेतृत्वमा २५ जनाको दरले १७५ जना कर्मचारी जानेछन् । सरकारले गएको बुधबार सातवटै प्रदेशमा प्रमुख र अस्थायी राजधानी तोकेको थियो ।
प्रदेश नम्बर १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरालाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र प्रदेश नम्बर ७ मा मोहनराज मल्लले प्रदेश प्रमुखको जिम्मेवारी पाएका छन् भने काठमाण्डौंमा शपथ लिएका प्रदेश प्रमुखहरु अब आ–आफ्नो प्रदेशको राजधानी जानेछन् ।
यस्तै, सातवटै प्रदेश प्रदेशको अस्थायी राजधानीमा प्रदेश प्रमुखको स्वागतका लागि तयारी भइसकेको छ ।