केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री ओलीका नयाँ अर्थमन्त्री डा. खतिवडा को हुन् ?

सहयात्रा टिभी

काठमाडौं । केपी शर्मा ओलीको सरकारमा आज शपथ लिने नया चार जना मध्ये अर्थमन्त्री बनेका डा. युवराज खतिवडा पहिलो पटक मन्त्री बनेका हुन् । अर्थक्षेत्रका ज्ञाताका रुपमा रहेका खतिवडालाई संघियतामा मुलुक गईसकेपछि प्रधानमन्त्री के पी ओली नेतृत्वको सरकारमा देशको ढुकुटीको जिम्मा पाएका छन् ।

राष्ट्रबैंकको गर्भनर र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भईसकेका खतिवडामाथी नेपालको अर्थतन्त्र उकास्ने चुनौती रहेको छ । आर्थिक विकासलाई तिब्रता दिने उद्घोष गर्दै आएका प्रधानमन्त्री ओलीलाई अर्थतन्त्रमा भएको भद्रगोलको स्थितीबाट पार लगाउन योग्य व्यक्ति चाहिएकाले खतिवडालाई अर्थमन्त्री बनाइएको एमाले बृतमा चर्चा छ ।

Photo: THT

यस्तो छ खतिवडाको पृष्ठभूमि :

डा. युवराज खतिवडाको जन्म वि.सं. २०१९ सालमा भएको हो । उनी नेपाल राष्ट्र बैंकको पन्ध्रौं गभर्नर हुन् । उनले यूएनडीपी रीजनल सेन्टरमा वरिष्ठ अर्थशास्त्रीका रुपमा पनि काम गरिसकेका छन् ।

खतिवडा वि.सं.२०५९ देखि २०६२ सम्म नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्षसमेत भइसकेका छन् । यस अघि उनी नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमुख भइसकेका थिए । २०३८ मा त्रिभुवन विश्वविद्यालयमा एक स्नातकोत्तर शिक्षक र २०४७ देखि २०४८ सम्म त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा एक अतिथि संकाय सदस्यको रूपमा पनि खतिवडाले काम गरिसकेका छन् ।

डा. युवराज खतिवडाले २०३८ र २०४१ मा त्रिभुवन विश्वविद्यालयबाट क्रमशः अर्थशास्त्र र लोक प्रशासनमा मास्टर डिग्री प्राप्त गरेका थिए । वि.सं. २०४८ मा दिल्ली स्कूल अफ इकोनोमिक्सबाट मौद्रिक अर्थशास्त्रमा पीएचडी गरेका खतिवडाले धेरै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रशिक्षण र विकास सम्बन्धित मुद्दा तथा कार्यक्रमहरूको सेमिनारमा भाग लिएका छन् । डा. खतिवडाले वि.सं.२०५० मा महेन्द्र विद्या भूषण तथा वि.सं.२०५७ सुप्रबल गोर्खा दक्षिण बाहु प्राप्त गरिसकेका छन् ।

प्रकाशित : 26 February, 2018

प्रतिक्रिया दिनुहोस्