केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल र चीनविच ८ परियोजना निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर

सहयात्रा टिभी

एजेन्सी । असार–६, चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनका सरकारी र निजी कम्पनीबीच विभिन्न ८ परियोजना निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

हुवासिन सिमेन्ट उद्योग स्थापनाका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरेका छन् जसमा हुवासिनले १४ अर्ब ४० करोड लगानी गर्नेछ ।

त्यसैगरी पूर्वी तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न निर्माण गर्न लागिएको बिरिङ, कमला, कन्काई नदी सिँचाइ परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेसम्बन्धमा पनि दुवै देशविच सम्झौता भएको छ ।

त्यसैगरी फलफुल उद्योग स्थापना गर्न, १ सय ६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणका लागि, ४० दशमलब २७ मेगावाट क्षमताको सिउरी–न्यादी जलविद्युत् आयोजना निर्माणका लागि, नेपाल पस्मिना उद्योग संघ र ओबोर परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्लेटफर्मबीच २ लाखदेखि ५ लाख थान पस्मिना खरिदका लागि, कूल ६ सय मेगावाट क्षमताको ‘मस्र्यांग्दी क्यास्केड जलविद्युत् परियोजना’ निर्माणका लागि, ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी परियोजना निर्माणका लागि पनि संयुक्त रुपमा कार्य गर्न दुवै देशका कम्पनिविच सम्झौता भइ सम्बन्धित व्यक्तिहरुले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : 20 June, 2018

प्रतिक्रिया दिनुहोस्