केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिमस्टेक सम्मेलनको सफलताले नेपालको प्रतिष्ठा बढाएको प्रधानमन्त्रीको दाबी

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२०, प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको शिखर सम्मेलनको सफलताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा र क्षमता बढाएको दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले बिमस्टेकको शिखर सम्मेलनबाट मुलुकको प्रतिष्ठा र क्षमतालाई पुष्टि गरेको बताएका हुन् ।

सीमित स्रोत र साधनकाबीच छोटो समयमा गरिएको सम्मेलनले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाएको भन्दै प्रधानमन्त्री ओलीले त्यसबाट कूटनीतिक कुशलता पनि देखिएको जिकिर गरे ।

सम्मेलनमा सम्पर्क सञ्जाल विस्तार, ऊर्जा प्रवर्धन र व्यापारका लागि महत्वपूर्ण निर्णय भएको र त्यसले नेपालको विकासमा महत्वपूर्ण मद्दत पुग्ने उनको धारणा थियो ।

त्ययसैगरि संसदमा प्रतिपक्षी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बिमस्टेक घोषणापत्रमा सैन्य अभ्यास उल्लेख नभएको समेत बताएका छन् । उनले घोषणापत्रमा रहेको आतंकवादसम्बन्धी बुँदा पढेर सुनाए ।

आतंकवाद नियन्त्रणका लागि अनुभव आदानप्रदान गर्ने गरी यसअघि विभिन्न देशसँग भइरहेका संयुक्त सैन्य अभ्यास भन्दा फरक खालको सैन्य अभ्यासको सम्झौता नभएको ओलीको भनाइ थियो ।
ओलीले क्षेत्रीय संगठनको प्रभावकारी गतिविधिबाट एकअर्का राष्ट्रबीच भावनात्मक सम्बन्धको विकास, समस्या समाधानमा एकताको जागृति र सामूहिक काममा सहकार्यको भावना कायम भएको पनि बताएका छन् ।

प्रकाशित : 5 September, 2018

प्रतिक्रिया दिनुहोस्