केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अब बेरोजगारले वार्षिक कम्तीमा २२ हजार भत्ता पाउने

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२९, अब बेरोजगारले बेरोजगारी भत्ता पाउने विधेयक पारित हुने अन्तिम चरणमा पुगेको छ । सरकारले रोजगारीको हक सुनिश्चित गर्न ल्याएको विधेयकमा बेरोजगारलाई जीवन निर्वाह भत्ता दिने प्रस्ताव छ। समितिबाट पास भएर संसदमा पुगिसकेको विधेयकले असोज २ गतेभित्रै कानूनी हैसियत समेत प्राप्त गर्दैछ।

विधेयक पास भएपछि बेरोजगारले वार्षिक कम्तिमा २२ हजार भत्ता प्राप्त गर्न सक्नेछन्। यस्तो कानुन अनुसार बेरोजगारले भत्ता पाउन विभिन्न सर्तहरु पुरा हुनु पर्नेछ ।

परिवारका कुनै पनि सदस्य रोजगार भएमा अन्य बेरोजगार सदस्यले भत्ता पाउने छैनन् । बेरोजगार भत्ता प्राप्त हुन परिवारका कुनै पनि सदस्य रोजगार नभएको, अन्य कुनै पनि प्रकारको पेन्सन वा भत्ता पाउने नगरेको हुनुपर्छ ।

त्यसैगरि सामाजिक सुरक्षा कोषबाट रकम प्राप्त गर्ने अर्थात् बीमा भएको परिवारका सदस्यले पनि भत्ता पाउने छैनन्। त्यस्तै, सरकारी कोष, अन्य अन्तर्राष्ट्रिय संघ संगठन तथा संगठित संस्थामा काम गर्ने परिवारका सदस्यलाई समेत यस्तो भत्ता दिइने छैन।

स्थानीय तहमा बेरोजगारले नाम दर्ता गराउनु पर्छ। यसरी नाम दर्ता भएको परिवारलाई राज्यले रोजगारी उपलब्ध गराउने छ। रोजगारी उपलब्ध गराउन नसकेको अवस्थामा मात्र भत्ता दिइने विधेयकमा उल्लेख छ।

यस्तो भत्ता वर्षमा सय दिन रोजगारी गर्दा प्राप्त हुने रकमको पचास प्रतिशत मात्र हुनेछ। हाल सरकारले श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ४ सय ५० तोकेको छ। यदि सरकारले यही पारिश्रमिकलाई मान्यता दिएको अवस्थामा एक व्यक्तिले वर्षमा २२ हजार १ सय ९ रुपैयाँ जीवन निर्वाह भत्ता प्राप्त गर्नेछ।

प्रकाशित : 14 September, 2018

प्रतिक्रिया दिनुहोस्