सेयरमा लगानी गर्दैहुनुहुन्छ? लगानी कर्ताले जान्नैपर्ने १० कुरा

सहयात्रा टिभी

काठमाडौं । चैत्र १६, हामीले सेयर बजारबाटै उल्लेख्य आम्दानी गरेको धेरै उदाहरण पाउन सक्छौं । यद्यपि, सेयर बजारबाट ठूलो रकम आर्जन गर्नु त्यति सजिलो भने छैन । यसको लागि उल्लेख्य धैर्यता र अनुशासन भएर मात्र पनि हुँदैन । बजारको उल्लेख्य अनुसन्धान र त्यसलाई बुझ्नु पनि जरुरी हुन्छ । राम्रो मुनाफा आर्जन गर्ने सम्भावना बढाउने केही नियम यहाँ उल्लेख गरिएको छ ।

१. अर्काको धेरै अनुशरण
सेयर खरिद गर्ने वा बिक्री गर्ने भन्ने निर्णय मानिसले आफ्ना, साथीभाइ, आफन्त वा अन्य विश्वासिलो मानिसको प्रभावमा परेर गर्छन् । त्यसैले एउटै सर्कलका धेरै मानिसले कुनै एउटै सेयरमा लगानी गर्छन् । सेयर बजारका बादशाह भनेर चिनिने वारेन बफेटको भनाइ छ, ‘अरुले लोभ गरिरहेको बेला सधैं सावधान हुनुहोस् र अरु डराइरहेको बेला लोभी हुनुहोस् ।’

२. सुसूचित भएरमात्र निर्णय गर्नुहोस्
सेयर बजारमा लगानी गर्नुभन्दा पहिला राम्रोसँग अध्ययन गर्नु पनि जरुरी हुन्छ । तर, धेरैले लगानी गर्नुपूर्व राम्रोसँग अध्ययन गर्दैनन् । मानिसहरु कम्पनीको नामको आधारमा समग्र अवस्था नबुझी लगानी गर्छन् तर यो सेयर बजारमा लगानी गर्ने सही तरिका भने होइन ।

३. बुझेको कम्पनीमा मात्र लगानी गर्नुहोस्
लगानी सेयर बजारको समग्र अवस्था हेरेर भन्दा पनि सम्बन्धीत कम्पनीलाई ध्यानमा राखेर गर्नुपर्छ । यसको अर्थ तपाईंले कुनै कम्पनीमा लगानी गर्दै हुनुहुन्छ भने उक्त कम्पनीले के काम गर्छ भनेर तपाईंलाई राम्रोसँग थाहा हुनु जरुरी हुन्छ । त्यस कम्पनीले केकति लाभांश दिन्छ ? त्यो कम्पनीको सञ्चालक समिति वा व्यवस्थापन कस्तो छ राम्ररी अध्ययन हुनु जरुरी छ ।

४. बजारको मूल्य गणना गर्ने प्रयास नगर्नुहोस्
सेयर बजारमा लामो समयदेखि लगानी गर्दै आएका मानिसले पनि बजारको भाउ यो समयमा यहाँ पुग्छ भनेर भन्न सक्दैनन् । यसरी मूल्यको गणना गर्ने क्रममा मानिसहरुले आफूले पाउने रकम पनि गुमाउन पुग्छन् । अहिलेसम्म सफलतापूर्वक कसैले पनि सेयर भाउको अनुमान गर्न सकेका छैनन् ।

५. अनुशासित लगानीको अवधारणा पालना गर्नुहोस्
सेयर बजारमा सही तरिकाले प्रक्रियागतरुपमा सही बजारमा लगानी गरी उक्त लगानीलाई लामो समयसम्म राख्न सक्ने मानिसले अप्रत्याशित नाफा आर्जन गर्न सक्छन् । त्यसैले दीर्घकालीन लगानीलाई ध्यानमा राख्दै धैर्य गरेर अनुशासित लगानीको अवधारणाको अनुशरण गर्नुहोस् ।

६. भावनामा आएर निर्णय नगर्नुहोस्
धेरै लगानीकर्ताले आफ्नो भावनालाई रोक्न नसकेको कारण सेयर बजारबाट धेरै नोक्सानीको सामना गर्छन् । विशेषगरी लोभ र डरले मानिसहरुले सही समयमा आफ्नो सेयर किन्न वा बेच्न सक्दैनन् । मानिसहरुले छोटो समयमा धेरै पैसा कमाउने लोभलाई रोक्न सक्दैनन् ।

७. फरक फरक क्षेत्रमा लगानी गर्नुहोस्
फरक फरक क्षेत्रमा लगानी गर्नु निकै कम जोखिममा उल्लेख्य फाइदा कमाउने एक अर्को महत्वपूर्ण तरिका हो । कति धेरै क्षेत्रमा लगानी गर्ने भन्ने कुरा लगानी कर्ताको जोखिम बहनको क्षमतामा भर पर्छ ।

८. सम्भव हुने अपेक्षा गर्नु
तपाईंले सेयर बजारबाट धेरै नाफा कमाउने उद्देश्य राख्नु कुनै नराम्रो कुरा होइन । तर, तपाईंले राख्नुभएको लक्ष्य पूरा हुन सक्ने किसिमको हुनुपर्छ । उदाहरणको लागि पछिल्ला केही वर्षमा धेरै कम्पनीमा गरिएको लगानीमा ५० प्रतिशत नाफा आएको हुनसक्छ ।

९. पर्याप्त रकम भएको अवस्थामा मात्र लगानी गर्नुहोस्
सेयर बजारको अवस्था सधैं तलमाथि भइरहन्छ । त्यसैले तपाईंले नोक्सानी भए पनि सहन सक्छु भन्ने सोचेर मात्र लगानी गर्नुहोस् । यस्तोमा यो रकम गुमाए पनि मलाई ठूलो असर पर्दैन भन्ने अवस्थामा मात्र लगानी गर्नुहोस् ।

१०. निरन्तर निरीक्षण गर्नुहोस्
सेयर बजारमा विश्वको कुनै पनि क्षेत्रमा हुने गतिविधिहरुले हाम्रो वित्तीय बजारमा असर पार्छ । त्यसैले हामीले निरन्तररुपमा आफ्नो लगानीमा निरीक्षण गरिरहनुपर्ने हुन्छ । जसको माध्यमबाट आफ्नो लगानी कतातिर जाँदैछ भन्ने आफूलाई थाहा हुन्छ ।

प्रकाशित : 29 March, 2021

प्रतिक्रिया दिनुहोस्