आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य नभएको प्रचण्डको दाबी

सहयात्रा टिभी

काठमाडौ । असोज १०, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू केही वर्षदेखि नै प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्।उनले राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य नभएको पनि दाबी गरेका थिए।

घटस्थापनाका अवसरमा आज चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्रीको रेसमा भन्दा पनि आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता आफूले बनाएको बताए।

‘मंसिर ४ मा चुनाव आउँदैछ। यहाँ प्रधानमन्त्रीको कुरा पनि आयो। म प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि छैन,’ उनले भने, ‘मैले चाहेको भए २०७४ मा पाँचै वर्षका लागि प्रधानमन्त्रीको अफर थियो। अहिले पनि छ तर मैले जनताको आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता ठानेको छु।’

उनले मंसिर ४ मा कसलाई जिताउने भन्ने कुरा जनताको हातमा रहेको पनि बताए। चितवनका जनता सचेत र लोकतन्त्रका पक्षमा रहेको उनको भनाइ थियो। ‘जनताले अन्यथा फैसला दिन्छ भने पनि मान्य छ,’ उनले भने।

तर विभिन्न तत्वहरुले पार्टी र नेताहरुको बदनाम गर्दै परिवर्तन उल्टाउने षड्यन्त्र गरिरहेका छन्। सामाजिक सञ्जालको प्रयोग गरेर पार्टी र नेताको बदनाम गरिँदैछ,ु प्रचण्डले भने, ुयसतर्फ सञ्चार क्षेत्र सचेत रहनुपर्‍यो। सामाजिक सञ्जालको दुरुपयोग हुन दिनुभएन।ु

उनले प्रतिगामी तत्वले सामाजिक सञ्जालबाट डर, भ्रम छरेर जनतालाई दिग्भ्रमीत पार्ने कसरत गरिरहेको बताए। संविधान र लोकतन्त्रलाई धरापमा पर्न नदिनेगरी जनताले मंसिर ४ गते फैसला गर्ने दाबी उनले गरे।

प्रकाशित : 26 September, 2022

प्रतिक्रिया दिनुहोस्