केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धरान खानेपानी बोर्डको बैठक बस्न सकेन मेयर राईले सूचना दिन अवरोध गरेको आरोप

सहयात्रा टिभी

काठमाडौँ । पुस ३, नौ महिनासम्म धरान खानेपानी बोर्डको बैठक बस्न नसकिरहेको अवस्थामा दलहरुले बोर्डको पारदर्शिताबारे जानकारी माग्दा पनि धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले सूचना दिन अवरोध गरेको आरोप लागेको छ ।

खानेपानी बोर्डका सदस्य समेत रहेका नेपाली कांग्रेस धरानका सभापति श्याम पोख्रेलले नौ महिनासम्म बोर्डको बैठक डाक्न नसकेको बताए ।

तीन करोड बढीको सामग्री सहयोगको रुपमा आएको प्रचार गरेका मेयरले सबै सामग्री खानेपानी बोर्डका लागि प्रयोगसमेत नगरेको आरोप पोख्रेलले लगाए ।

धरान उपमहानगरपालिकाको आर्थिक महाशाखाले सूचना दिन नमान्दा शुक्रबार गरिने भनिएको खानेपानीको आय–व्यय प्रस्तुत हुन सकेन ।

बिहीबार कार्यपालिकाको बैठक अवरुद्ध भएको विषयमा जानकारी दिन २० वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले शुक्रबार धरानको खानेपानीको आयव्यय प्रस्तुत गर्ने कार्यक्रम रहेको सञ्चारकर्मीलाई जानकारी दिएका थिए ।

तर आर्थिक प्रशासन महाशाखाका कर्मचारीले हिसाबकिताब नदिनू भन्ने नगर प्रमुखको निर्देशन रहेको बताएका थिए ।

सूचना नदिएकै कारण हिसाबकिताब सार्वजनिक गर्न नसकिएको धरान १७ का वडाध्यक्ष एवम् धरान कार्यपालिकाका प्रवक्ता सूर्यकुमार भट्टराई (मनोज) ले बताए ।

आर्थिक प्रशासन महाशाखाका प्रमुख भेषराज अधिकारीले वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले खानेपानीको आयव्ययको लागत सूचनामार्फत माग गरेको बताए ।

नगरप्रमुख साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा समेत हिसाबकिताब आफैं सार्वजनिक गर्ने बताएका छन् ।

जो पायो त्यहीले जतिखेर पायो त्यतिखेर सूचना माग गर्दा दिन बाध्य नहुने आशय व्यक्त गर्दै साम्पाङले लेखेका छन्, ‘म आफैं दिनेछु सूचना खानेपानी बोर्डको ! जो पायो त्यसले जतिखेर माग्यो त्यतिखेर दिनुपर्ने भन्ने हुँदैन !’

 

 

प्रकाशित : 18 December, 2022

प्रतिक्रिया दिनुहोस्