केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तीन नेपाली रियालिटी शो आउँदै

सहयात्रा टिभी

काठमाडौं । पुस ३, स्पेस चारके टेलिभिजनले तीन वटा रियालिटी शो घोषणा गरेको छ। काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै बालबालिकाको लागि नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाको लागि ‘र्‍याप स्टार’ र डेटिङ गेम शो ‘फर्स्ट डेट’ गरी तीन रियालिटी शो घोषणा गरिएको हो।

उक्त कार्यक्रममा टेलिभिजनले एकैसाथ तीन वटा रियालिटी शोको टिजर र त्यसको अवधारणा सार्वजनिक गरेको थियो। साथै तीन रियालिटी शोको निर्णायकको नाम सार्वजनिक गरेको छ।

र्‍याप स्टारको निर्णायकमा चर्चित र्‍यापर गिरिश खतिवडा, सन्दिप विस्ट अर्थात् मिस्टर डी र अभिजित भण्डारी एजे रहेका छन्।

त्यसैगरी ‘जस्ट डान्स लिटिल मास्टर्स’मा अभिनेत्री सञ्चिता लुइटेल, कोरियोग्राफर प्रदीप लामा, बलिउडमा काम गरेर चर्चा कमाएका हिपहप डान्सर प्रकाश बिके रहेका छन् भने ‘फर्स्ट डेट’का क्रियटर तथा प्रोजेक्ट हेड चर्चित अभिनेता तथा प्रस्तोता रेमनदास श्रेष्ठ, क्रियटिभ हेड सञ्जिवरत्न शाक्य र निर्देशक आश्वीन न्यौपाने रहेका छन्।

कार्यक्रममा स्पेस चारके टेलिभिजनका अध्यक्ष दिनेशकुमार शाहीले नेपाली समाजमा लुकेर रहेका प्रतिभा क्षमतालाई अन्वेषण गर्ने र त्यस्ता क्षमतालाई स्थापित गरेर देशमा सकारात्मक सन्देश फैलाउन रियालिटी शो ल्याइएको बताए।

कार्यक्रममा ‘जस्ट डान्स लिटिल मास्टर्स’की निर्णायक तथा अभिनेत्री सञ्चिता लुइटेलले बच्चाको बालमनोविज्ञानमा आधारित भएर बालबालिकामा रहेको क्षमतालाई प्रष्फुटन गर्न योगदान गर्ने बताइन्।

र्‍याप स्टारका निर्णायक तथा र्‍यापर गिरिश खतिवडाले नेपाली समाजमा र्‍यापलाई हेर्ने दृष्टिकोण फरक भए पनि र्‍याप विधाले समाजको चित्रण गर्ने बताए।

प्रेमिल जोडीहरूमा आधारित भएर निर्माण गरिने डेटिङ रियालिटी शो ‘फस्ट डेट’ले दर्शकलाई मनोरञ्जन दिनुका साथै सपरिवार हेर्न मिल्ने गरी सभ्य तरिकाले निर्माण गर्ने अभिनेता रेमनदास श्रेष्ठले बताए।

डेटिङ रियालिटी शो ‘फस्ट डेट’ यही १४ फेब्रुअरी अर्थात् प्रणय दिवसलाई लक्षित गरेर ल्याउँदै छन् भने डान्स रियालिटी शो ‘जस्ट डान्स लिटिल मास्टर्स’ आउँदो वैशाखमा प्रशारण गर्नेछन्।’र्‍याप स्टार’ पुस महिनादेखि स्पेस चारके टेलिभिजनबाट प्रसारण हुने बताइएको छ।

प्रकाशित : 18 December, 2022

प्रतिक्रिया दिनुहोस्