केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग

सहयात्रा टिभी

काठमाडौं । माघ १५, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन्। उपसभापति खड्काले निर्वाचन आयोगले फागुन २८ अघि हुने गरी निर्वाचन मिति घोषणा गर्नुपर्ने बताएका हुन्।

उनले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नुपर्ने बताएका छन्। ‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ,’ ट्वीटमार्फत उनले भनेका छन्, ‘यसतर्फ बेलैमा ध्यान जाओस्।’

कांग्रेसले राष्ट्रपति निर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा सहयोग गर्न माओवादीलाई आग्रह गर्दै आएको छ।

प्रचण्डले दाबी पेश गर्नु अगाडि बालकोटमा भएको सहमति अनुसार राष्ट्रपति एमालेको भागमा रहेको छ। तर शुक्रबार बसेको माओवादीको स्थायी समिति बैठकमा राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्ट्रपतिमा अघि सार्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डमाथि ‘दबाब’ पनि बढाएका छन्। माओवादीले राष्ट्रपति निर्वाचनलाई एजेन्डा बनाएर छलफल गरिरहेको छ।

माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न पार्टी अध्यक्षलाई धेरै नेताहरूले सुझाव दिएको बताए।

एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा एमालेले नै उम्मेदवार खडा गर्ने बताएका छन्। नेम्वाङले राष्ट्रपतिको हकमा एमालेका तर्फबाट उम्मेदवार बनाउनेमा यसअघि नै सहमति भएको बुझाई रहेकाले एमाले नै उम्मेदवार खडा गर्ने बताएका हुन्। नेम्वाङले यस विषयमा अन्य दलहरूसँग सल्लाह गर्ने माओवादीको निर्णयलाई अन्यथा मान्न नहुने र एमालेको उम्मेदवारमाथि नै राष्ट्रिय सहमति खोज्ने नै भएको जिकिर गरे।

प्रकाशित : 29 January, 2023

प्रतिक्रिया दिनुहोस्