केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय एकताको आधार समतामूलक समाज : प्रधानमन्त्री दाहाल

सहयात्रा टिभी

काठमाडाैं । माघ २१, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताको आधार समतामूलक समाजको निर्माण गरिएको बताए ।

आदिवासी जनजाति आयोगको दोस्रो स्थापना दिवस तथा ‘आदिवासी जनजाति अध्ययन’ सार्वजनिकीकरण कार्यक्रमका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सबै वर्ग, जाति र समुदायलाई समान अवसर तथा प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिने बताए । “अहिले आर्थिक चुनौती छन्, त्यसलाई सही बाटोमा लैजानु छ, समतामूलक समाजको निर्माण गर्नुपर्ने छ । राष्ट्रिय एकताको आधार पनि यही नै हो”, उनले भने–“उत्पीडितको एकताले मात्र देशको रक्षाका साथै जनताको अधिकारको पनि रक्षा गर्न सकिन्छ ।”

प्रधानमन्त्री दाहालले उपलब्धिको रक्षाका निम्ति राष्ट्रिय सहमति र एकता जरुरी रहेको उल्लेख गरे । राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिने उनको भनाइ थियो । आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो सङ्घर्षबाट प्राप्त नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “हामीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगका बारेमा गम्भीर रुपमा छलफल गरेका थियौँ । छलफलपछि हामी आदिवासी, महिला, दलित, मुस्लिमलगायत आयोग बनाउने निष्कर्षमा पुगेका हौँ ।”

प्रधानमन्त्री दाहालले राज्यका सबै अङ्गमा समावेशी प्रतिनिधित्व पूर्ण नभए पनि सन्तोषजनक भएको बताए । “यो पूर्ण छैन । तर, यो निकै महत्वपूर्ण कुरा हो । यसलाई अझै समावेशी र पूर्ण समानुपातिक बनाउनेबारे छलफल चलिरहेको छ । त्यसका लागि हाम्रो प्रयास जारी रहनेछ”, उनले भने । समाज रुपान्तरणमा भएका सङ्घर्ष र त्यागको सम्मान गर्न हिच्कीचाउन नहुने उनको भनाइ थियो ।

प्रत्येक ठूला क्रान्तिपछि समाजमा प्रतिक्रान्तिको खतरासँगसँगै बढिरहेको हुन्छ भन्दै प्रधानमन्त्री दाहालले उत्पीडित वर्ग दिग्भ्रमितमा पर्नुहुँदैन भने। उनले आफूले जहिल्यै पनि आदिवासी जनजाति समुदायसँग घनिष्ठ सम्बन्ध स्थापित गर्दै आएको बताए।

प्रधानमन्त्री दाहालले भने, “चाहे रोल्पा, रुकुम भन्नुस्, चाहे भोजपुर, खोटाङ भन्नुस्, चाहे गोरखा, लमजुङ, तनहुँ, मनाङ भन्नुस्, चाहे थारुका आधार क्षेत्र बाँके, बर्दिया, कैलाली र कञ्चनपुर भन्नुस्, चाहे मधेश भन्नुस्, मले उत्पीडित वर्ग र समुदायसँग एकाकार भएर नै आन्दोलनको नेतृत्व गरेको हुँ ।”

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले सीमान्तकृत तथा आदिवासी जनजातिको संरक्षण र सम्बर्धनबाट मात्र राज्यको हित हुने बताए । कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापामगरले हरेक क्षेत्रमा आदिवासी जनजातीको सहभागिता बढाउनका लागि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए ।

प्रकाशित : 4 February, 2023

प्रतिक्रिया दिनुहोस्