ठूला अस्पतालकै फार्मेसीमा म्याद गुज्रेका र दर्ता नै नभएका औषधी

काठमाडौँ । साउन ८, काठमाडौंका ठूला अस्पतालका औषधि पसलमा म्याद सकिएका र सरकारी निकायमा दर्ता नै नभएका औषधी बिक्री गरेको पाइएको छ ।
सोमबार स्वास्थ्य मन्त्रालय तथा औषधि व्यवस्था विभागका कर्मचारीको २० वटा टोली खटाएर काठमाडौं उपत्यकाभित्रका ठूला अस्पताल तथा फार्मेसीको अनुगमन भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहितको टोलीले वीर अस्पताल, पाटन अस्पताल, अल्का अस्पताललगायत केही फार्मेसीको अनुगमन गरेको थियो ।
त्यस क्रममा औषधी व्यवस्था विभागमा दर्ता नभएका र म्याद सकिएका औषधी पनि पाइएको बस्नेतले बताए ।
मन्त्री बस्नेतले सोमबार देशभरका फार्मेसीको अनुगमन भइरहेको बताए । ‘उपत्यकाभित्र आजै अनुगमन सकिन्छ । बेलुकासम्म अनुगमन टोलीले गरेको रिपोर्ट प्राप्त हुन्छ’, मन्त्री बस्नेतले भने, ‘कानुनी प्रक्रियामा जानुपर्ने वा सचेत गर्नुपर्ने निर्णय रिपोर्टको आधारमा अगाडि बढाउछौं ।’
उपत्यकाबाहिर पनि विभागको टोलीले निरन्तर अनुगमन गरिरहेको छ । ‘अनुगमन तथा निरीक्षण गर्ने कुरा आज मात्रै होइन । निरन्तर चलिरहन्छ,’ मन्त्री बस्नेतले भने ।