मुटुरोगको जोखिम र यसको संकेत

काठमाडौँ । साउन ८, हाम्रो खानपान र जीवनशैली जसरी ध्वस्त हुँदै गएको छ, त्यसरी नै मुटुरोगको जोखिम पनि बढेर गएको छ ।
प्रशोधित खानपान, मदिरा, चुरोट आदिले मुटुको कार्य क्षमता कमजोर बनाउँदै लगेको छ । निष्क्रिय जीवन, अनियन्त्रित खानपान, तनावले मुटुलाई मारमा पारेको छ । त्यसैले अहिले धेरै व्यक्ति मुटुको समस्यासँग जुधिरहेका छन् ।
मुटुरोगको जोखिम र यसको संकेत बारेमा आजै चर्चा गरी स्वस्थ मुटुको लागी सुरक्षीत बन्नु जरुरी रहेको छ । मुटुमा समस्या भएको वा मुटु खराब हुँदै गएको केही संकेत देखिन्छन् ।
मुटु खराब हुँदा देखिने प्रमुख संकेत छाती दुख्नु हो । यदि मुटुको धमिनीहरुमा अवरोध भइरहेको छ भने हिंड्दा, धपेडी हुँदा, उकालो चढ्दा र भर्याङ चढ्दा बढी छाती दुखेको महसुस हुन्छ भने विश्रामको बेला दुख्दैन । यो मुटु खराब हुँदा देखिने सुरुवाती अवस्था हो ।
सास फेर्न गाह्रो हुने समस्या फोक्सोसम्बन्धी समस्याले पनि हुन्छ । तर मुटुमा आंशिक अवरोध भएमा हिंड्दा स्वाँ-स्वाँ हुने र पूरै अवरोध भएमा हिंड्दा, बस्दा र बेडमा पल्टिरहेको अवस्थामा पनि सास फेर्न कठिन हुन्छ ।
धेरैजसो स्वास्थ्य समस्यामा टाउको दुख्नु साझा लक्षणको रुपमा देखा पर्छ । टाउको दुखाइ मुटु खराब हुँदा पनि देखिन्छ । रक्तचाप बढ्ने बित्तिकै पछाडिको भागको टाउको दुख्छ । अत्यधिक मात्रामा पछाडिको भागको टाउको दुख्छ भने उच्च रक्तचाप हुनु वा मुटुरोग देखिनु हुन सक्छ ।
मुटुरोग लागेकाहरुमा खुट्टा सुन्निने समस्या पनि मुख्य रुपमा देखिन सक्छ । विशेषगरी मुटुले पम्प गर्न नसक्दा खुट्टा फुल्दै आउने गर्छ । त्यस्तै मुटुको भल्ब खराब, मांसपेशी कमजोर र रक्तचाप उच्च हुँदा खुट्टा सुन्निन्छ ।
बालबालिका पनि मुटुरोग देखिने गर्छ । जसलाई मुटु बाथरोग पनि भनिन्छ । उनीहरुमा बारम्बार टन्सिल आउने, जोर्नी दुखिरहने र शरीरमा डाबर आइरहेको छ भने मुटु बाथरोगको संकेत गर्छ । यस्तोमा मुटुको भल्बमा खराबी पनि हुन सक्छ । यदि यस्तो समस्या समयमै उपचारपछि बच्न सकिन्छ । त्यस्तै जन्मजात नै मुटुरोग भएका बालबालिकामा कहिलेकाहीं हातखुट्टा, अनुहार निलो हुने गर्छ ।
सामान्यतया कुनै कुराको त्रास, उकालो चढ्दा, दौडिंदा, उफ्रिंदा ढुकढुक बढ्न सक्छ । हृदयघात, उच्च रक्तचाप, मुटुको भल्ब कमजोर हुने, मुटुको मांसपेशी कमजोर हुने जस्ता प्रायस् सबैजसो मुटुको समस्यामा ढुकढुकी बढेको महसुस हुन्छ ।
मधुमेह, कोलेस्टेरोल र रक्तचापको मात्रा उच्च हुनु मुटुरोग हुने सम्भावित संकेत हुन् । यदि यी तीनै कुरा उच्च छन् भने कालान्तरमा मुटु फेल हुने वा हृदयघात हुने जोखिम हुन्छ ।
त्यसैले यस्ता लक्षण देखिने बित्तिकै तुरुन्त अस्पताल जानुपर्छ । किनभने जति छिटो पत्ता लाग्यो त्यति छिटो मुटुलाई बचाउन सकिन्छ ।