केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्यान्सर उपचारमा प्रयोग हुने ‘कार टी सेल थेरापी’ को सफल परीक्षण

सहयात्रा टिभी

काठमाडौं । माघ २१,क्यान्सर उपचारमा प्रयोग हुने ‘कार-टी सेल थेरापी’ को नेपालमा प्रयोगशाला परीक्षण सफल भएको दाबी गरिएको छ ।

सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालले शनिबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै संयुक्त राज्य अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनबाट प्रमाणित सीडी-१९ कारको प्रयोगशालामा कार-टी सेलको सफलतापूर्वक परीक्षण गरेको जनाएको हो ।

रिजेनरेटिभ मेडिसिनको सीडी-१९ कार-टी सेल स्वीस औषधि निर्माता नोभार्टिस र गिलियाडको कार-टी सेल जत्तिकै प्रभावकारी देखिएको अमेरिकाको एस्ट्राजेनेका फार्मास्यूटिकल्सको अन्कोलोजी विभागमा कार्यरत डा. सञ्जीवन गौतमले बताए ।

गौतमका अनुसार अतिउच्च प्रविधियुक्त यस उपचार विधिको सफल प्रयोगशाला परीक्षण नेपालमा पहिलो पटक भएको हो ।

प्रयोगशालामा सफल कार-टी सेल थेरापीलाई गुड म्यानुफ्याक्चरिङ प्य्राक्टिस प्रविधियुक्त प्रयोगशालामा मानव प्रयोगका लागि उत्पादन गर्ने उद्देश्य सेन्टर फर रिजेनरेटिभ मेडिसिनको रहेको छ ।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) ले यो प्रविधिलाई सात वर्षअघि प्रमाणित गरेको थियो ।

त्यसपश्चात संसारका अन्य देशमा पनि यसको परीक्षण भएको छ । यस अनुसार यसमा प्रयोग हुने रिएजेन्ट र उपकरण निकै महँगा र जटिल प्रविधियुक्त हुन्छन् ।

विकसित देशमा तीनदेखि पाँच करोड रुपैयाँसम्म खर्च लाग्ने कार-टी सेल थेरापीलाई अमेरिकी, जर्मन र ब्राजिलियन संस्थाहरूको सहकार्यबाट नेपालमै १० गुणा कम लागतमा उत्पादन र उपलब्ध गराउने उद्देश्य रहेको डा. गौतमको भनाइ थियो ।

वीर अस्पतालको क्यान्सर विभागमा कार्यरत प्रा. डा. रमिला शिल्पकार रक्त क्यान्सरमा सफलतापूर्वक परीक्षण गरिएको यो उपचार पद्धति नेपाल प्रयोगमा ल्याउँदा बर्सेनि १०० भन्दा बढी बिरामी लाभान्वित हुने प्रक्षेपण गरिएको बताउँछिन् ।

उनका अनुसार यो पद्धति बिस्तारै रक्त सहित अन्य क्यान्सरमा पनि प्रयोग हुने क्रममा छ ।

 

प्रकाशित : 4 February, 2024

प्रतिक्रिया दिनुहोस्